Gen-Z आन्दोलनका कारण रोकिएको पठनपाठन आइतबारदेखि नियमित सञ्चालन हुने

Gen-Z समूहद्वारा आयोजित आन्दोलनका कारण केही दिनदेखि अवरुद्ध भएको शैक्षिक गतिविधि आइतबारदेखि फेरि नियमित हुने भएको छ।

यसबारे प्याब्सन रूपन्देहीका अध्यक्ष दीपक खनाल, नेशनल प्याब्सन रूपन्देहीका अध्यक्ष वायुप्रसाद वन्जाडे र हिसान रूपन्देहीका अध्यक्ष कृष्णबहादुर सापकोटाले हस्ताक्षर गरिएको संयुक्त विज्ञप्ति आज सार्वजनिक गरिएको हो।

विज्ञप्तिमा भनिएको छ, “देशको शिक्षा प्रणालीलाई अविरल, व्यवस्थित र गुणस्तरीय बनाउन सबै सरोकारवालाको साझा जिम्मेवारी हो भन्नेमा हामी दृढ छौं।”

आन्दोलनका कारण सिर्जित असामान्य परिस्थितिमा प्रभावित भएको शिक्षण–अध्यापनलाई आइतबार अर्थात् २०८२ भदौ २५ गतेदेखि नियमित सञ्चालन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै विद्यालय, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शैक्षिक समुदायलाई संयमता अपनाउन र भविष्यप्रति जिम्मेवार रहन आह्वान गरिएको छ।

You might also like