बुटवलमा युवाहरुलाई लक्षित गरेर सचेतना कार्यक्रम सम्पन्न
सामाजिक सञ्जालको प्रयोग दिनप्रतिदिन बढ्दै गइरहेको छ तर यससँगै यसको नकारात्मक प्रभाव पनि तीव्ररुपमा देखापर्न थालेको छ। यही विषयलाई केन्द्रित गर्दै शनिबार बुटवलमा युवाहरुलाई लक्षित गरेर सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । गलत सूचनाबाट जोगिन र रोक्न युवाको भूमिका विषय कार्यशाला चाँदनी नेपालको आयोजनामा सम्पन्न गरिएको हो । कार्यक्रममा बुटवलका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत २५ वर्ष मुनिका युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी युवाहरुलाई सामाजिक सञ्जालमा आउने सामग्रीमध्ये कस्ता भ्रामक हुन्छन् र कस्ता सामग्री विश्वासयोग्य हुन्छन् भन्ने विषयमा विस्तृत जानकारी दिइएको थियो। सामाजिक सञ्जालमा देखिने प्रत्येक समाचार वा सामग्रीलाई सोचविचार बिना सेयर, लाइक वा कमेन्ट गर्दा ठूलो खतरा निम्तिन सक्ने भएकाले यसबारे विद्यार्थीहरू सचेत हुनुपर्नेमा जोड दिइएको थियो।
यूएनडीपीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा अधिवक्ता तथा शिक्षक युवराज कडेलले विद्यार्थीहरूलाई सामाजिक सञ्जालमा हुने गलत प्रयोग गलत सूचनाको दुष्प्रभाव तथा त्यसलाई रोक्न सकिने उपायबारे व्याख्या दिनुभयो। उहाँले युवाहरुलाई जिम्मेवार प्रयोगकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
यस्तै चाँदनी नेपालका संस्थापक भवानीप्रसाद पाण्डेले विद्यार्थीहरूले सत्य र असत्य सूचना कुन हो छुट्याउने क्षमता विकास गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले सामाजिक सञ्जालबाट सजिलै भ्रममा पार्ने खालका समाचार वा तस्बिर आउने भएकाले त्यसलाई अन्धविश्वास नगरी स्रोत पहिचान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार सही सूचना मात्र ग्रहण गर्ने अभ्यासले मात्र समाजमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
कार्यक्रममा सहभागी युवाहरूले पनि सामाजिक सञ्जालको सदुपयोग गर्दै गलत प्रवृत्तिबाट टाढा रहने प्रतिबद्धता जनाएका थिए। यस्ता कार्यक्रमले युवाहरुलाई सचेत र जिम्मेवार बनाउन ठूलो सहयोग पुग्ने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।