देशभर तोडफोड र आगजनीपछि सडकभर खरानी, जेन्-जि समूह सरसफाइमा
भदौ २५ —
हिजो दिनभर र राति अबेरसम्म भएको तोडफोड र आगजनीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरका सडकमा अहिले खरानी र भग्नावशेष थुप्रिएका छन्। जलाइएका फर्निचर र कागजात यत्रतत्र छरिएका छन् भने धुलो र खरानीले वातावरण प्रदूषित बनेको छ।
आन्दोलनकारीहरूले प्रहरी बिट, निजी घर र सरकारी संरचनामा आगजनी गर्दा त्यसबाट निस्केको फोहोर सडकमा अस्तव्यस्त रूपमा फैलिएको छ। अत्यधिक मात्रामा टायर जलाइएका कारण आकाश समेत धुवाँले ढाकिएको छ।
यसबीच, जेन्-जि समूहले आज सडकहरूमा स्वतःस्फूर्त रूपमा सरसफाइ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। उनीहरूले आन्दोलनका क्रममा सडकमा फैलिएको खरानी, धुलो र फोहोर हटाउने जनाएका छन्।
सेना परिचालन भएसँगै स्थिति विस्तारै सामान्य बन्दै गएको सुरक्षास्रोतहरूले जनाएका छन्।