रूपन्देहीमा जेन-जी आन्दोलनका क्रममा ठूला क्षति
रूपन्देहीमा जेन-जी आन्दोलनका क्रममा ठूला क्षति
रूपन्देही, भदौ २५ —
हिजो भएको जेन-जीहरूको आन्दोलनका क्रममा रूपन्देहीमा व्यापक क्षति पुगेको छ। आन्दोलन उग्र बन्दा सरकारी तथा गैरसरकारी कार्यालयदेखि निजी क्षेत्रसम्मका संरचना र साधनसामग्री खरानी बनेका छन्।
बुटवल उपमहानगरपालिका, उच्च अदालत बुटवल, राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय, ईलाका प्रशासन कार्यालय, सडक डिभिजन, अख्तियार अनुसन्धान कार्यालय, भाटभटेनी सुपरमार्केट बुटवल, ड्रीम इन्टरनेशनल होटल, एमाले पार्टी कार्यालय, माओवादी केन्द्र पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय लगायतका भवनमा तोडफोड तथा आगजनी भएको छ।
यस्तै भैरहवा विमानस्थल, सिद्धार्थनगर नगरपालिका, नेताका घरहरू र सयौँ गाडी तथा मोटरसाइकलहरू समेत क्षतिग्रस्त भएका छन्। आन्दोलनकारीहरूले महत्वपूर्ण कागजातसमेत जलाएका कारण सरकारी अभिलेखमा ठूलो क्षति पुगेको बताइएको छ।
स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरे पनि आन्दोलन हिंसात्मक रूप लिँदा नियन्त्रण गर्न कठिनाइ भएको थियो।
यसबीच, सरकार विघटन भइसकेपछि परिस्थितिलाई नियन्त्रणमा लिन नेपाल सेनाले देशभर कर्फ्यु लगाएर सेना परिचालन गरेको छ।