वैदिक साम्यवाद
आलोक अग्रहरी
कम्युनिज्म अर्थात साम्यवाद एक आर्थिक विचारधारा हो जसले वर्गविहीन समाजको वकालत गर्दछ जहाँ सबै सम्पत्ति व्यक्तिको स्वामित्वमा नभई सामुदायिक स्वामित्वमा हुन्छ । आधुनिक कम्युनिस्ट विचारधारा फ्रान्सेली क्रान्तिको समयमा विकसित हुन थाल्यो, र यसको मुख्य विधान, कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको “कम्युनिस्ट घोषणापत्र,” १८४८ मा प्रकाशित भयो। साम्यवाद पुँजीवादको विरुद्धमा थियो, जुन समाज निर्माण गर्न लोकतन्त्र र पुँजीको उत्पादनमा निर्भर हुन्छ। साम्यवादका प्रमुख उदाहरणहरूमा सोभियत संघ र चीन थिए। १९९१ मा साेभियत संघको पतन हुँदा, चीनले केही पूँजीवादी चरित्र समावेश गरी आफ्नो अर्थतन्त्रलाई व्यापक रूपमा परिमार्जन गरेको छ। जसको फलस्वरूप ऊ विश्वकाे दाेस्राे ठूलाे अर्थतन्त्र भएको छ। सन १९८० मा खुला अर्थनीतिकाे अवलम्बन गरे पश्चात ४० वर्षमा लगभग ८५ कराेड जनसंख्यालाई गरीबीमुक्त गरेकाे छ भने सन २०१२ देखि २०२१ सम्म करिब १० कराेड हार्डकाेर गरिबहरुलाई गरीबीबाट मुक्त गरी विश्वकाे पहिलो गरीबीमुक्त राष्ट्र बनेकाे छ। साम्यवादी विचारधाराकाे व्यावहारिक कार्यान्वयनले याे संभव भएको हाे। विश्वका अन्य देशले यसको सिकाे गर्नुपर्दछ।
याे चमत्कारिक विचारधाराकाे पहिलो उल्लेख ऋगवेदमा भेटिन्छ ।
अयं निजः परो वेति गणना लघुचेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।। (RigVeda, Maha Upanishad 6.72)
अर्थात, ‘यो मेरो हो’ र ‘यो मेरो होइन’ भन्ने भेद संकीर्ण विचारधाराले मात्र गर्छ। राम्रो आचरण गर्नेहरूका लागि सारा संसार एउटै परिवार हो। यस संसारमा जहाँ मानिसहरूले धर्म, जाति, भूगोल, रंग, भाषा र देशको सीमानाका आधारमा ‘विशिष्ट समूह’ बनाउन खोजिरहेका छन्, ‘वसुधैव कुतुम्बकम्’ एउटा क्रान्तिकारी विचार हो । यो ताजा हावा जस्तै हो, जहाँ हामी सबैलाई आफूसँग समान व्यवहार गर्छौं। कुनै पनि परिवार जस्तै, हामीमा मतभेद हुन सक्छ, तर यसले हामीलाई अलग गर्दैन। याे पुरातन सोच नयाँ होइन, यो सबैभन्दा पुरानो वेद ऋगवेदबाट आएको हो, त्यसैले यो सुरुदेखि नै पूर्वीय दर्शनको आधार हो।

श्रीमद्भगवद्गीता काे पाँचौ अध्यायकाे अठारौं श्लाेकमा भनिएको छ कि,
विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि |शुनि चैव श्र्वपाके च पण्डिताः समदर्शिनः || (गीता ५-१८)
अर्थात, ज्ञानी र विनम्र साधु पुरुषले विद्वान व्यक्ति, गाई, हात्ती, कुकुर र जडबुद्धि मनुष्यलाई समान दृष्टिले हेर्छन्। श्रीकृष्णले यस श्लोकमा कसरी दिव्य ज्ञानले सांसारिक दृष्टिभन्दा भिन्न दृष्टि प्रदान गर्दछ भनी बताउनुभएको छ। यस ज्ञानको साथ एक भक्तले सबै जीवित प्राणीहरूलाई आत्माको रूपमा देख्छ जुन भगवानको अंश हो र त्यसैले दिव्य प्रकृतिकाे हो। श्रीकृष्णले दिएका उदाहरणहरू सबै प्राणी र जीवनका विभिन्न जातका हुन्। धार्मिक अनुष्ठान गर्ने वैदिक ब्राह्मणहरू सम्मानित छन् भने माँस भक्षण गर्ने जडबुद्धि भएकाले प्रायः घृणित मानिन्छन्। गाईले मानव प्रयोगको लागि दूध दिन सक्छ तर कुकुरले सक्दैन। चाडपर्वमा हात्तीको प्रयोग गरिन्छ भने गाई र कुकुरको प्रयोग हुँदैन । हाम्रो ब्रह्माण्डमा, भौतिक दृष्टिकोणबाट, यी प्रजातिहरूको जीवन स्पेक्ट्रममा धेरै भिन्नताहरू छन्, जबकि आध्यात्मिक ज्ञान भएका प्रबुद्धहरूले ती सबैलाई अनन्त आत्माहरू मान्दछन् र त्यसैले तिनीहरू सबैलाई एउटै दर्शनमा देख्छन्। वेदहरूले ब्राह्मण उच्च जात र श्रमिक वर्ग निम्न जाति हो भन्ने धारणालाई समर्थन गर्दैन। दिव्य ज्ञानको दृष्टिकोणले ब्राह्मणहरूले धार्मिक कर्मकाण्ड गर्ने, क्षत्रियहरूले समाजको व्यवस्थापन गर्ने र वैश्यहरूले व्यापारिक क्रियाकलाप र शूद्र श्रममा लागे पनि सबै अविनाशी आत्माहरू हुन् किनभने सबै ईश्वरका अंश हुन् त्यसैले सबै समान छन् भन्छ ।
यसर्थ, यदि हामी सार्वभौमिक एकताको यी दर्शनहरूमा बाँच्न चाहन्छौं भने, हामीलाई बलियो अर्थव्यवस्था र सामाजिक ऐक्यबद्धता चाहिन्छ । त्यसतर्फ काम गरौं र सत्य युगको मार्ग प्रशस्त गरौं।
साधुवाद!!