मधेशी भाषामा सपथ लिनुभएका डा.सीके राउतको समर्थन गर्दै लुम्बिनीमा दिप प्रज्वलन
पौष १० ,रुपन्देही । जनमत पार्टीका केन्द्रीय अध्यक्ष तथा संसदीय दलको नेता डा.सीके राउतले संसदमा मधेशी भाषामा सपथ ग्रहण गरेको भन्दै रुपन्देहीको लुम्बिनीमा दिप प्रज्वलन गरिएको छ । सम्पुर्ण मधेशी समुदायको प्रतिनिधित्व गर्दै संसदमा मधेशी भाषामा सपथ ग्रहण गर्नु स्वागतयोग्य काम गरेको भनेर पार्टीका नेता कार्यकर्ता तथा सुबेच्छुकहरुले समर्थन गरेका हुन् ।
पार्टीका केन्द्रीय सचिव भोपन्द्र प्रसाद यादवको उपस्थितीमा लुम्बिनीको पर्सा चोकमा मधेशी भाषा स्वागत लेखिर त्यसैमाथि मैनबत्तीबालेर दिपवाली गरिएको हो ।
सो अवसरमा बोल्दै केन्द्रीय सचिव यादवले मधेशी आयोगले संसद सचिवालयलाई मधेशी भाषाको विषयमा सोधेको स्पष्टिकरण प्रति घोर आपत्ति जनाउनु भयो ।
नाममा मधेशी आयोग भएपनि त्यसको पदाधिकारीहरु कुनै पनि मधेशी मुलको नभएको र त्यस माथि पार्टीका अध्यक्ष डा.सीके राउतले लिएको सपथको भाषामा प्रश्न उठाएर आयोगले गम्भिर गल्ती गरेको यादवले बताउनु भयो । यादवले आयोगका पदाधिकारीहरुको राजीनामा समेत माग्नु भएको छ ।
सो अवसरमा अन्य कार्यकर्ताहरुले डा.राउतले लिएको सपथले सम्पुर्ण मधेशी जनताको प्रतिनिधित्व गरेको भन्दै खुसी व्यक्त गरेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य रामकेश गुप्ता , नेता रामदेव यादव सहितका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।