बुटवलमा ‘लागू औषध परामर्श केन्द्र’ सञ्चालनमा लागू पदार्थ प्रयोगकर्ताहरूका लागि निःशुल्क मनोसामाजिक परामर्श प्रदान गर्दै
लागू औषधको दुरुपयोग र यसको असर कम गर्ने उद्देश्यले बुटवलमा ‘लागू औषध परामर्श केन्द्र’ सञ्चालनमा छ। बुटवल उपमहानगरपालिका र नेपाल प्रहरीको सहकार्यमा लागू औषध प्रयोगकर्ताहरूका लागि निःशुल्क मनोसामाजिक परामर्श प्रदान गरिने यो केन्द्रमा पछिल्ला दिनमा सेवाग्राहीको संख्या निरन्तर बढ्दै गएको छ।
परामर्शमा आएपछि लागू औषध त्याग्न इच्छुक व्यक्तिहरूलाई निःशुल्क औषधोपचार उपलब्ध गराई दुर्व्यसनबाट क्रमशः छुटाउन र उनीहरूलाई पुरानै जीवनशैलीमा फर्काउन सहयोग गरिन्छ। नेपालमा पछिल्लो समय युवावर्गमा लागू औषधको प्रयोग गम्भीर सामाजिक समस्या बनेको छ। यसले स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै अपराधको दर पनि बढाउने गरेको तथ्यांक प्रहरीको छ। यही अवस्थालाई ध्यानमा राख्दै बुटवल उपमहानगरपालिका र नेपाल प्रहरीले संयुक्त पहलमा यो केन्द्र स्थापना गरेका हुन्।
विशेषगरी साथीको संगत, बीचमै पढाइ छाड्नु, रोजगारीको अभाव, प्रेम वा पढाइमा असफलता जस्ता कारणले युवाहरू लागू औषधको दुर्व्यसनमा फस्ने गरेका छन्। परामर्श केन्द्रका अनुसार, पछिल्ला दिनमा “अब सुध्रिनुपर्छ” भन्ने भावना जागृत भएपछि यस्ता युवाहरू परामर्शका लागि आउन थालेका छन्।
परामर्श लिन आउनेमध्ये धेरैजसोको परिवारमा बुबाआमा विदेशमा हुने अभिभावकको हेरचाहको अभाव हुने, वा पारिवारिक वातावरण असहज हुने अवस्था देखिन्छ। प्रहरी सहायक हवलदार गीता कुँवरका अनुसार परामर्शका क्रममा युवाहरूले आफ्नो दुर्व्यसनको कारण खुलाउँदै सुधारको इच्छासमेत व्यक्त गर्छन्। उहाँले परामर्श केन्द्रले कानुनी सल्लाहका साथै लागू औषधको प्रयोगले समाजमा पार्ने असरबारे सचेतना दिलाउने र सेवाग्राहीलाई पहिलाकै जीवनमा सहजै फर्काउन सहजीकरण गर्ने जानकारी दिनुभयो।
उहाँले विद्यालय तहदेखि नै लागू औषधबारे सचेतना कार्यक्रम सञ्चालन गर्न सके दुर्व्यसनको दर केहि घटाउन सकिने उल्लेख गर्नु भयो। केन्द्रमा १६ वर्षदेखि ४२ वर्षसम्मका व्यक्तिहरू परामर्शका लागि आउने गरेका छन्, जसमा शिक्षित र सम्पन्न परिवारका युवाको संख्या पनि उल्लेख्य छ।
बुटवलस्थित यो केन्द्रमा रूपन्देही मात्र नभई कपिलवस्तु र परासीसम्मका सेवाग्राही आउने गरेका छन्। परामर्श लिएपछि केहीले वैदेशिक रोजगारीका अवसर पाएका छन् भने केहीले पुरै दुर्व्यसन त्यागी पुरानै जीवनशैलीमा फर्किएका छन्। हाल केन्द्रमा ७ जना प्रयोगकर्ता नियमित परामर्शमा छन्। आर्थिक वर्ष ८०/८१ मा १३९ जनाले र आर्थिक वर्ष ८१/८२ मा १४१ जनाले यस केन्द्रबाट सेवा लिएको केन्द्रका तथ्यांकमा उल्लेख छ।
केन्द्रका अनुसार, परामर्श लिन आउने अधिकांश युवा मनोवैज्ञानिक र सामाजिक सहयोगको आवश्यकता बोकेर आउने गर्छन्। जसले उनीहरूलाई पुनह जीवन सुरु गर्न प्रेरित गरिरहेको छ।