चुनावमा असहयोग गर्दा कांग्रेस लुम्बिनीका नगर सभापति खाँ सहित १४ जनालाई कारवाही
रुपन्देही । मंसिर ४ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा असहयोग गर्दा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर सभापति मोहम्मद सहिद खाँ सहित एक जना वडा सभापति र अन्य १४ जना त्रियाशिल सदस्यहरुलाई कारवाही गरिएको छ ।
निर्वाचनको समयमा आफ्ना प्रदेश तथा प्रतिनिधी सभाका उम्मेदवारलाई सहयोग नगरेकाले उपसभापति सहितको नगर समितिको बैठकले सर्वसम्मत रुपमा निणर्य गर्दै कारवाही गरिएको नगर सचिव विरेन्द्र व. त्रिपाठीले बताए ।
कारवाही हुनेमा नगर सभापति मोहम्मद सहिद खाँ , वडा नम्बर ९का सभापति इनामुल्लाह मुसलमान, वडा नम्बर ९का क्रियाशिल सदस्यहरु मोहम्मद अमूख मुसलमान , कलामुद्दीन मुसलमान , अब्दुल हक मुसलमान , उर्मिला चाई , भरत कर्मी , अजीज फकिर , कलामुद्दीन मुसलवान , रामअचल कर्मी , मोहफद इसरार मुसलवान ,सुमीत यादव र वडा नम्बर १०का क्रियाशिल सदस्य राम प्रसाद गडेरिया र राधेश्याम पासी(बृजमान)लाई कारवाही गरिएको त्रिपाठीले जानकारी दिए ।
निर्वाचनको समयमा पार्टीको उम्मेदवारलाई सहयोग नगरेकोले साधारण सदस्य समेत नरहने गरी सर्वसम्मत निणर्य गरेर कारवाही गरिएको नगर उपसभापति राधेश्याम गुप्ताले बताए ।
मंसीर २० गते उपसभापति गुप्ता सहित बसेको नगर समितिको बैठकले यस्तो निणर्य गरेको हो । अर्को निणर्य नहुँदा सम्म उपसभापति गुप्तालाई सर्वसम्मत रुपमा कार्यवाहक अध्यक्ष बनाइएको छ । रुपन्देहीको क्षेत्र नम्बर ४मा पर्ने उक्त क्षेत्रबाट प्रतिनिधी सभामा भरत कुमार शाहा र प्रदेश सभामा फकरुद्दीन खाँ र गठबन्धनका उम्मेदवार विनोद पहाडीनै पराजित भएका थिए ।
नेपाली कांग्रेसको बलियो किल्लाको रुपमा रहेको क्षेत्रमै कांग्रेस सहित गठबन्धनका उम्मेदवार पराजित हुँदा कार्यक्रर्तामा निराशा छाएको छ ।