निर्वाचनमा पराजित भएपनि मतदाताको घरदैलोमा देखिएका भोपेन्द्र
रूपन्देही ।
निर्वाचनको समयमा भोट माग्दै मतदाताको घरदैलोमा सबै उम्मेदवारहरु पुग्छन् तर निर्वाचन जितेपछि भने नेताहरुलाई जनताले गाउँमा भेट्न र देख्न पनि पाउँदैनन् । यस्तो परिपाटी विगत देखिकै हो । तर रुपन्देही क्षेत्र ४ ,मर्चवार क्षेत्रबाट सांसद पदका उम्मेदवार भोपेन्द्र प्रसाद यादव अहिले पुन मतदाताको घरदैलोमा देखिन थालेका छन् । मतदाताले निर्णायक मत दिएर निर्वाचित बनाएको नभए पनि यादव अहिले प्रत्येक मतदाताको घरमा पुगिरहेका छन् ।
जनमत पार्टीका राष्ट्रिय सचिव समेत रहेका यादवले १५ हजार बढि मत पाएका थिए । मर्चवारको परिवर्तनको लागि निरन्तर संघर्ष गर्दै आएका यादवलाई मर्चवारवासीले अहिले प्रतिपक्षमा बस्ने गरि मत दिएका छन् । यादवले किसान आन्दोलनको नेतृत्व गरि किसानलाई मलखाद्को व्यवस्था गर्नुपर्ने , किसानको उत्पादनको विमा हुनुपर्ने , सिंचाई , किसानलाई पेन्सनको माग गर्दा दर्जनौँ पटक जेलमा बस्नु परेको थियो ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा रहेर जनताको सेवा गर्दै आएका यादवले आफू पदमा भएपनि ,नभए पनि मर्चवारका जनताको सेवा गर्ने बताउँछन् । “मर्चवारमा परिवर्तन गर्न र मर्चवारको बैज्ञानिक तरिकाले विकास गर्न मेरो उम्मेदवारी थियो ” यादव भन्छन् , “जनताले मलाई प्रतिपक्षमा बस्ने गरि भोट दिएका छन् । मैले पदमा नभएपनि मर्चवारमा शासक होईन सेवक भएर काम गर्ने छु । ”
आफूले भोट दिएका नेताले निर्वाचन नजिते पनि आफ्नै घरदैलोमा भेट्दा स्थानियहरु भने खुसी भएका छन् । “हामीले भोट दिएर विजय बनेका उम्मेदवारहरु जितेर पनि अहिले सम्म गाउँमा देखिएका छैनन्” एक मर्चवारका वृद्ध मतदाता आँगनमा राखेको कुर्चिमा बसेर भोपेन्द्र यादवलाई हेर्दै भन्दै थिए, “जनताको नेता भनेको यस्तो पो हुनुपर्छ । हामीले गल्ती गर्यौँ ,जनमतका भोपेन्द्रलाई जिताउँन सकेनौँ । अर्को निर्वाचनमा भोपेन्द्रको विकल्प छैन ।”
मर्चवार , सम्मरीमाई , मायादेवी र लुम्बिनीका अधिकांश स्थानियहरुले जनमत पार्टीका सचिव यादवलाई विजय बनाउँन नसक्दा पछुतो भएको बताउँछन् । “चुनावको समयमा हामिले गल्ती गर्यौँ , अब पाँच वर्ष सजाय भोग्नु पर्ने भयो ” एक स्थानिय महिलाले बताईन् ।
यता , यादव भने आफूलाई जनता माँझ पुग्दा छुट्टै उत्साहा जाग्ने गरेको बताउँछन् । उनले मर्चवारले आफूलाई सम्मान जनक मत दिएको बताउँदै मतदाताले आफू र जनमत पार्टीलाई गरेको विश्वासलाई सधै कायम राखेर सधै मर्चवारका जनता संग सुख दुःखमा सहयात्री र सवेक भएर काम गर्ने बताए । रुपन्देही ४मा लोसपाका सवेन्द्र नाथ शुक्ला विजय भएका हुन् ।