बुटवल र भैरहवामा शान्ति र्‍याली, ‘सेभ द नेशन, सेभ द कन्स्टिच्युसन’को आह्वान

जेन–जी आन्दोलनपछि उत्पन्न असहज अवस्थालाई सहज बनाउन रुपन्देहीका विभिन्न ठाउँमा शुक्रबार शान्तिपूर्ण र्‍याली निकालिएको छ।

बुटवलमा नेपाल पत्रकार महासंघ रुपन्देहीको अगुवाइमा पेशागत सञ्जाल, पापड तथा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा ‘सेभ द नेशन, सेभ द कन्स्टिच्युसन’ भन्ने मूल नारासहित र्‍याली निकालिएको हो। राजमार्ग चौराहाबाट सुरु भएको र्‍याली ट्राफिकचोक पुगेर समापन भएको थियो।

समापन कार्यक्रममा नेपाल बार एसोसिएसन उच्च अदालत बुटवलका अध्यक्ष गोविन्द मरासिनी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, रुपन्देही अध्यक्ष दिनेश पाण्डेसहितका वक्ताले राष्ट्र र संविधानको सुरक्षाबारे सचेत रहन सबैलाई आह्वान गरे।

त्यसैगरी, भैरहवामा नेपाल–भारत सीमा नाका बेलहियादेखि बुद्धचोकसम्म विभिन्न संघ–संस्थाको सहभागितामा शान्तिपूर्ण सद्भाव र्‍याली आयोजना गरियो। र्‍यालीमा जेन–जी युवा समूह, लुम्बिनी प्रेस क्लब, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, चेम्बर अफ कमर्स, यातायात व्यवसायी, होटल संघलगायतको सहभागिता थियो।

र्‍यालीपश्चात् प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले रुपन्देहीमा कफ्र्यू आदेश हटाइएको र निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै जनजीवन सामान्यतर्फ फर्किँदै गएको बताए। उनले आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्नहरूको फोटो–भिडियो संकलन भइरहेको उल्लेख गर्दै त्यस्ता प्रमाण भए प्रशासनलाई उपलब्ध गराउन आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले युवाका जायज माग सम्बोधन गर्दै संयमित रहन सुझाव दिए। जेन–जीका सागर ज्ञवालीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलनमा घुसपैठ हुँदा मानवीय र भौतिक क्षति बढेको टिप्पणी गरे।

You might also like