अन्तरिम सरकारको नेतृत्वका विषयमा आज राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिबीच निर्णायक छलफल हुने

अन्तरिम सरकारको नेतृत्वका विषयमा आज राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिबीच निर्णायक छलफल हुने भएको छ। नेपाली सेनाको समन्वयमा हुने यस छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्तावलाई औपचारिकता दिने तयारी गरिएको छ।

जेनजी प्रतिनिधिहरूले कार्कीको नाम टुंगो लगाइसकेका छन्। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देल पनि छलफलमा सहभागी हुनेछन्। उनले आजै अन्तिम निकास आउने विश्वास व्यक्त गरेका छन्।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो।

कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले खुलेर समर्थन जनाइसकेका छन्। धरानका मेयर हर्क साम्पाङले पनि कार्कीको पक्षमा समर्थन जनाएका छन् भने दुर्गा प्रसाईंले देश निकास पाओस् भन्नेमा जोड दिँदै नेतृत्वमा जसको नाम आए पनि स्वीकार गर्ने बताएका छन्।

जेनजी युवाहरूले भर्चुअल मतदानमार्फत पनि कार्कीको पक्षमा बहुमत समर्थन जनाएका थिए। कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गर्न सकारात्मक रुपमा प्रस्ताव स्वीकार गर्ने बताइसकेकी छन्।

You might also like