बुटवलमा निषेधाज्ञा : सभा, जुलुस र प्रदर्शनमा रोक
रुपन्देही प्रशासनले बुटवल तथा भैरहवाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारि गरेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै भदौ २३ गते दिउँसो ४ बजेदेखि रातिको १० बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञा बुटवल उपमहानगरको पूर्वमा धागो कारखाना पुलसम्म, दक्षिणमा बेलबास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिण मंगलापुर क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, धर्ना, बैठक कार्यक्रम गर्न निषेध गरिएको छ।
त्यस्तै भैरहवा पूर्वमा रोहिणी खोलाको पुलसम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोक र दक्षिणमा मेउडीहवा सम्म कुनै कार्यक्रम नगर्न उल्लेख गरिएको छ। यस्तै बुटवल बेथरी सडक खण्डको सय मिटर दायाँबायाँ पनि कुनै गतिविधि नगर्न उल्लेख गरिएको छ।
प्रमुख जिल्ला अधिकारी टेकराज पान्डे द्वारा हस्ताक्षर विज्ञप्तिमा शान्ति सुरक्षा कायम राख्न, सम्भावित अप्रिय घटना रोक्न र जनधनको क्षति हुन नदिन निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ।