हाटबजार व्यवसायीको रक्तदानमा उत्साहित रक्तदाता, जुट्यो ३६ प्वाइन्ट रगत

बुटवल ।
हाटबजार व्यवसायी संघ रुपन्देहीले आइतबार बुटवलको रक्तसंचार केन्द्रमा आयोजना गरेको रक्तदानमा ३६ प्वाइन्ट रगत संकलन भएको छ । व्यवसायिक हकहितका लागि स्थापना भएको संघले आफ्ना व्यवसायीसँगै रगत अभावमा हुने समस्या समाधान गर्न नियमित रुपमा रक्तदान गर्दै आएको छ ।
संघले आफ्नो स्थापना दिवस, विभिन्न खालका कार्यक्रममा थालेको रक्तदानलाई सबै व्यवसायीले नियमित बनाउन थालेका छन् । पहिले पहिले संघको कार्यक्रममा मात्रै रक्तदान गर्न आग्रह गर्नुपर्ने व्यवसायीहरु अहिले समय पुगेपछि आफै रक्तदानका लागि तयार हुन थालेको संस्थाका उपाध्यक्ष रविलाल पाण्डेले बताए ।
आइतबार बिहान भएको रक्तदान शुभारम्भ कार्यक्रम संस्थाका अध्यक्ष हुमराम पोखरेलको अध्यक्षता तथा महासचिव जयन्त घर्तीको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल नियमित रक्तदाता महासंघका केन्द्रीय सचिव तथा रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीले व्यवसायीहरुले नियमित रक्तदानको अभियानलाई साथ दिएको बताए । उनले हरेर स्वस्थ्य मान्छेले नियमित ३ महिनामा रगत दिनुपर्ने विषय सचेतनाका रुपमा अगाडि बढाउनुपर्ने बताउँदै रुपन्देहीबाट थालिएको यो अभियानले सबैतिर सकारात्मक सन्देश गएको बताए ।
नियमित रक्तदान उपसमितिका संयोजक डोलराज फुल्लेलका अनुसार संघले थालेको रक्तदान अभियानलाई अहिले सबै व्यवसायीबीच पुराउन सकिएको बताए । रुपन्देहीमा ५ वटा शाखा रहेको हाटबजार व्यवसायी संघमा करिब ४० हजार व्यवसायी आवद्ध रहेको संघका महासचिव जयन्त घर्तीले बताए ।

You might also like