बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै ।।

बुटवल । विश्वमा सर्वाधिक चर्चामा रहेको खेल र खेलाडीको परिचय बनाएको लन टेनिस खेल यस वर्ष बुटवलमा हुने भएको छ । फागुन ६ देखि १० सम्म बुटवलमा प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ आयोजना हुने भएको हो ।

रुपन्देही लन टेनिस संघले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला लन टेनिस संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीले पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा देशभरका १ सय बढि खेलाडीहरु विभिन्न उमेर समुहमा भाग लिने निश्चित भएको बताए ।

ज्ञवालीका अनुसार पुरुष एकल खुला ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेटान्स ३५ माथि युगल, पुरुष भेटान्स ४५ माथि, पुरुष भेटान्स ५५ माथि पुरुष ६५ माथि गरि कुल १२ इभेन्टमा प्रतियोगिता संचालन हुने छ । प्रतियोगिताको पुरुष र महिला सिंगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तथा तृतिय दुई जना खेलाडीलाई जनही २० हजार रुपैया रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सिंगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमश नगद ३० हजार, १५ हजार र १० हजार रुपैया ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीलाई क्रमश २५ हजार, १५ हजार र १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता र तृतियलाई क्रमश २० हजार, १० हजार र ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरि ६५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता तथा तृतिय खेलाडीलाई क्रमश १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष ज्ञवालीले बताए । उनका अनुसार डबल तर्फ पुरुष डबल र महिला डबल उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि भेट्रान्स डबल्सतर्फ ३५र४५र५५र६५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजार रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । १२ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ५ लाख २२ हजार ५ सय रुपैया तथा कुल १८ लाख ७२ हजार ५ सय रुपैया खर्च हुने अनुमान गरिएको ज्ञवालीले बताए ।

विश्व खेल जगतमा चर्चित खेल भएपनि केही वर्ष पहिले सम्म यो खेल नेपालमा काठमाण्डौ र पोखरामा केन्द्रित रहेको थियो । पछिल्लो एक दशकमा रुपन्देहीमा समेत लन टेनिसको खेल र खेलाडी विकास भैरहेको उनले बताए । रुपन्देहीमा लन टेनिस खेल र खेलाडीहरुको क्षमता विकास, नियमित अभ्यास र खेल पुर्वाधार विकासमा रुपन्देही लन टेनिस संघ निरन्तर लागेको उल्लेख गर्दै राजधानी पछिको लन टेनिसको हवकारुपमा रुपन्देही बन्दै गरेको ज्ञवालीले दाबी गरे ।

You might also like