मर्चवारमा त्रिकोणिय भिडन्त : भोपेन्द्र बाबु , प्रमोद यादव र सर्बेन्द्र नाथ शुक्ला
मर्चवारले पटक पटक नयाँ अनुहारलाई जिताई रहेको विगत ,यसपटक दोहोराएको खण्डमा जनमतका यादवनै निर्वाचित हुन सक्ने देखिएको छ ।तर कांग्रेसका यादव र शुक्लाको भने विगत देखिकै प्रभाव मर्चवारमा रहिरहेको छ ।
बुटवल , २४ असोज ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको चुनावी रौनक उत्कर्षमा पुगेको छ । रुपन्देहीको क्षेत्र नम्बर ४मा पर्ने मर्चवार भारत संग जोडिएको रणनीतिक महत्वको क्षेत्र संगै राष्ट्रिय राजनीतिमा समेत दरिलो उपस्थिती जनाउने क्षेत्र हो । रुपन्देही जस्तो सुगम जिल्ला भएर पनि मर्चवार विकास र पुर्वाधारको दृष्टिले पछाडी परेको छ । मर्चवारबाट प्रतिनिधित्व गर्ने नेताहरु सांसद , मन्त्री बनेर आफ्नो जिवनस्तर परिवर्तन गरेको भएपनि मर्चवारवासीको जिवनमा भने कुनै परिवर्तन नभएको स्थानिय अगुवाहरु बताउँछन् ।
सामान्यतया मनोनयन दर्तापछि चुनावी माहोल बन्ने गरे पनि मर्चवार क्षेत्रमा भने यसअघि देखिनै चुनावी माहोल बनि सकेको हो । मर्चवारमा नेकपा एमाले र माओवादी केन्द्रको संगठन कमाजोर अवस्थामा रहेपनि कांग्रेस सहित मधेसवादी पार्टीहरू सिके राउतको जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा लगायतका दलहरुको प्रभाव देखिन्छ । अन्य क्षेत्र जस्तो मर्चवार अझैसम्म कुनै पार्टीको एकलौटी किल्ला बन्न सकेको छैन ।
कहिले कुन पार्टी कहिले कुन पार्टीको जितले यहाँ कसले बाजी मार्ला भन्ने आँकलन गर्न गाह्रो हुन्छ । चुनाव पिच्छे मतदाता फेरिने क्षेत्र समेत रहेको मर्चवारमा २०४८ सालको आम चुनावमा नेपाल सद्भावना पार्टीका श्याम सुन्दर गुप्ता विजयी भएका थिए । मर्चवार भेग पर्ने तत्कालीन रुपन्देही क्षेत्र नम्बर ५ बाट उनी विजयी भएका हुन् । २०५१ सालमा राप्रपाबाट चुनाव लडेका सर्वेन्द्रनाथ शुक्ला विजयी भए । २०५६ सालको चुनावमा सद्भावनाले दोस्रो पटक चुनाव जित्दा यज्ञजित शाह सांसद बनेका थिए । त्यस्तै २०६४ सालको संविधान सभाको चुनावमा तत्कालीन क्षेत्र नम्बर ६ बाट मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव विजयी बने ।
२०७० सालको संविधान सभाको चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लाले बाजी मारेका थिए । २०७४ सालको संसदीय चुनावमा नेपाली कांग्रेसले पहिलो पटक मर्चवारमा विजयी हासिल गरयो । हाल रुपन्देही क्षेत्र नम्बर ४ मा पर्ने मर्चवारमा कांग्रेसका प्रमोद यादव प्रतिनिधिसभा सदस्य छन् भने प्रदेशसभा (क) मा कांग्रेसबाटै अष्ट भुजा पाठक र (ख) मा बसिउद्दीन खान विजयी बनेका थिए । यसरी हेर्दा शुक्लाबाहेक अन्य नेता प्रायः दोहोरिएका छैनन् । २०५१ सालमा राप्रपाबाट सांसद भएका सर्वेन्द्रनाथ शुक्ला २०७० सालमा भने तमलोपाबाट विजयी भए । कुनै समय लोसपाका नेता तथा पुर्व शिक्षा मन्त्री सर्बेन्द्र नाथ शुक्लाको पकड क्षेत्र जस्तो मानिने मर्चवारमा २०७४को निर्वाचनमा भने नेपाली कांग्रेसका युवा नेता प्रमोद यादव निर्वाचित भएका थिए । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा भएर निर्वाचन आयोगले आईतवार मनोनयन दर्ता समेत गरिसकेको छ ।
उम्मेदवारको अग्रपंतीमा जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव , नेपाली कांग्रेसबाट प्रमोद यादव , लोसपाबाट सर्बेन्द्र नाथ शुक्ला , जसपाबाट ओम प्रकाश यादव , लगाएतका नेता सहित अन्य विभिन्न पार्टी तथा स्वतन्त्रहरुले समेत उम्मेदवारी दिएका छन् । अधिकांश पुरानै अनुहार देखिएपनि डा. सीके राउत नेतृत्वको जनमत पार्टीले भने पार्टीका केन्द्रीय सचिव यादवलाई मर्चवारमा फ्रेस र नयाँ अनुहारलाई उतारेको हो । एक दशक बढि समय देखी मधेस केन्द्रीत राजनीतिक आन्दोलनमा यादव सकृय रहदै आएका थिए । यादव मधेसी समुदायको साथै किसानहरुको हक हितको लागि निरन्तर संघर्षरत रहेका थिए ।
जनमत पार्टीका यादव संगै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला र गत निर्वाचनमा निर्वाचित प्रमोद यादव र जसपाका ओमप्रकास यादव विच प्रतिस्प्रधा हुने आकालन गरिएको छ । मर्चवारले पटक पटक नयाँ अनुहारलाई जिताई रहेको विगत ,यसपटक दोहोराएको खण्डमा जनमतका यादवनै निर्वाचित हुन सक्ने देखिएको छ ।तर कांग्रेसका यादव र शुक्लाको भने विगत देखिकै प्रभाव मर्चवारमा रहिरहेको छ ।
रुपन्देहीको क्षेत्र नम्बर ४ मा पर्ने यो क्षेत्र मधेशी समुदायको बाहुल्यता छ । सम्मरीमाई गाउँपालिका , मर्चवारी गाउँपालिका , कोटहीमाई गाउँपालिका , मायादेवी गाउँपालिका र , लुम्बिनी साँस्कृतिक नगरपालिकाका केही वडा यो क्षेत्रमा पर्दछ । प्रदेश सभा तर्फ भने दुई निर्वाचन क्षेत्र छन् ।