रुपन्देहीमा जनमत पार्टीद्धारा ४ क्षेत्रमा उम्मेदवारी दर्ता , मर्चवारमा केन्द्रीय सचिव यादवको उम्मेदवारी

शुक्ला र यादवले निर्वाचित भएपनि कुनै काम नगरेकोले मर्चवारका जनताले दुई नेताको विकल्पको रुपमा भोपेन्द्र प्रसाद यादवलाईनै निर्वाचित गर्ने जनमत पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ताले दावि गरे

बुटवल , २४ असोज ।
डा.सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीको चार निर्वाचन क्षेत्रमा उम्मेदवार दिएको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा निर्वाचन क्षेत्र नम्बर २ बाहेका सबै क्षेत्रमा प्रतिनिधी सभा तथा प्रदेश सभा तर्फको सबै सिटमा उम्मेदवार उठाएको जनमत पार्टीले जनाएको छ । रुपन्देहीको क्षेत्र नम्बर ४ मर्चवारमा भने पार्टीका प्रभावशाली नेता तथा केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव स्वायम्ले उम्मेदवारी दर्ता गराएका छन् ।

रुपन्देहीको दक्षिणी क्षेत्र , कपिलवस्तु र नवलपरासी सम्म राम्रो प्रभाव भएका नेताका रुपमा परिचित यादवले मधेसी जनताका हक हित र अधिकारका लागि लड्दै आएका थिए । पछिल्लो समय सुगम जिल्ला रुपन्देहीको दुर्गम क्षेत्र मर्चवारलाई मुख्य प्राथमिकतामा राखेर मर्चवार बासीको जिवनस्तर परिवर्तन गर्न र मर्चवारलाई विकास गर्ने मुद्धा बोकेर यादव निरन्तर लागि परेको मर्चवारका स्थानियहरु बताउँछन् ।

मर्चवारलाई विगतमा लोक्तान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता तथा पुर्व शिक्षा मन्त्री सर्बेन्द्र नाथ शुक्लाको जनाधार रहेको क्षेत्रमा रुपमा लिने गरिन्थ्यो तर ०७४को निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता प्रमोद यादवले शुक्लाको बर्चस्वलाई कमजोर बनाउँदै आफु निर्वाचित भएका थिए ।

शुक्ला र यादवले निर्वाचित भएपनि कुनै काम नगरेकोले मर्चवारका जनताले दुई नेताको विकल्पको रुपमा भोपेन्द्र प्रसाद यादवलाईनै निर्वाचित गर्ने जनमत पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ताले दावि गरे ।उनले भने, “जनतालाई बिकासको नाममा पटक पटक झुक्याँउने काम भयो तर अहिले जनता सचेत भैसकेका छन् । मर्चवारको विकास र परिवर्तनको लागि जनमत पार्टीको विकल्प छैन ।”

आइतबार मझगावास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले रुपन्देही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि नेता यादवले जनमत पार्टीलाई मौका दिन आग्रह गरे । उनले भने, “ क्षेत्र नम्बर ४ (मर्चवार)का जनताका लागि आधुनिक कृषिको विकास समृद्धि हेतु एक घर, एक कृषि मोटरसहित नि:शुल्क विद्युतको व्यवस्था गर्छु ।”

त्यस्तै , रुपन्देही क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा जितेन्द्रनाथ शुक्ला (बब्लु) र ४ (ख)मा अर्जुन प्रसाद जैसवालले उम्मेदवारी दर्ता गराएका छन् । शुक्ला सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष समेत हुन् ।
यस्तै , जनमत पार्टी रुपन्देहीका अनुसार रुपन्देही क्षेत्र नम्बर १मा रुपन्देही कैलाश गुरुङ्ग र प्रदेश तर्फ १ (क)मा प्रदेशी केवट र १ (ख)मा अमेरिका यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर ३मा प्रमोद कुमार राउत र प्रदेश तर्फ ३ (क)मा सलाउद्दीन आलम , ३(ख )मा पोलिन्द्र पटेलको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर ५मा चन्द्रशेखर सोनार र प्रदेश तर्फ ५(क)मा अनुराग नाथ शुक्ला र ५(ख)मा चन्द्रकेश गुप्ता(सीके)ले उम्मेदवारी दिएका हुन् । रुपन्देहीको पाँच क्षेत्र मध्य क्षेत्र नम्बर २मा मात्र जनमत पार्टीले उम्मेदवारी नदिएको पार्टीका नेता रामदेव यादवले बताए ।

You might also like