बुटवलमा गर्मी चर्किए पनि आइसक्रिम व्यापार सुस्त

बुटवल । भदौरे गर्मीले तापक्रम बढ्दै गएको बुटवलमा आइसक्रिम खान मन पराउनेहरूको संख्या घटेको छैन। तर आइसक्रिम व्यवसाय गर्नेहरू भने अघिल्ला वर्षको तुलनामा व्यापार मन्द भएको गुनासो गर्दै आएका छन्।

अस्पताल, बसपार्क, हाटबजार र सडक छेउछाउमा आइसक्रिम बेच्नेहरू देखिए पनि उनीहरूका अनुसार आम्दानी पहिले जस्तो छैन।

बुटवलको प्रादेशिक अस्पताल अगाडि करिब १२ वर्षदेखि आइसक्रिम बेच्दै आएका भोजलाल आचार्यले पहिलाको तुलनामा अहिले व्यापार कम भएको बताए। उनले भने, “नगरपालिकाले बेलाबेला दुःख दिने गरेको छ। व्यवस्थित ठाउँ तोकिदिए राजस्व तिरेरै व्यापार गर्न तयार छौं।”

व्यवसायी कुलबहादुर मगरका अनुसार आइसक्रिम बेच्दा अपेक्षाअनुसारको कमाइ नभएको छ। उनले गुनासो गर्दै भने, “घाम खाने र मान्छे आउजाउ गर्ने हेरेर बस्नु बाहेक खासै व्यापार छैन। घर धान्न गाह्रो भएको छ।”

त्यस्तै, अर्का व्यवसायी राजन सापकोटाले अन्य व्यवसायझैँ ठूलो लगानी आवश्यक नपर्ने भएकाले केही सहज भए पनि आम्दानी भने स्थिर नभएको बताए। उनका अनुसार दैनिक ४/५ सयदेखि १ हजार २ सय रुपैयाँसम्म कमाइ हुने गरेको छ।

हस्पिटल लाइनमा भेटिएका अर्जुन जिसीले भने वैदेशिक पलायनका कारण खर्च गर्ने जनशक्ति नेपालमै नहुँदा आइसक्रिम व्यापारमा असर परेको बताए। उनका शब्दमा, “युवाहरू विदेशिन थालेपछि जस्तै–जस्तै आइसक्रिम व्यापार पनि घट्दै गएको छ।”

गर्मीमा तिर्खा मेटाउने र स्वादिलो मिठास दिने आइसक्रिम अहिले भने चुनौतीपूर्ण व्यवसाय बनेको छ। मौसमअनुकूल माग बढे पनि रोजगारीको अवसरको कमी, वैदेशिक पलायन र व्यवस्थापन अभावका कारण व्यापारीहरूले अपेक्षित आम्दानी गर्न नसकेको उनीहरूको गुनासो छ।

You might also like