बुटवलमा बिना दर्ता अटोरिक्सा बढी सञ्चालन, व्यवसायी असन्तुष्ट

बुटवलमा दर्ता नभई चलिरहेका अटोरिक्साहरूलाई नियमन गर्न नसकेको गुनासो अटोरिक्सा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले गरेका छन्। दर्ता भएका अटोरिक्साभन्दा बिना दर्ता सञ्चालन हुने अटोरिक्सा धेरै भएको उनीहरूको दाबी छ।

हरियाली यातायात प्रणालीको सातौँ वार्षिक साधारणसभामा बोल्ने वक्ताहरूले नगरपालिकाले अटोरिक्सा व्यवसायसँग सल्लाह नगरी नियम कानुन बनाउन थालेकोप्रति आपत्ति जनाए। उनीहरूले दर्ता नभएका अटोरिक्साले गर्दा दर्ता गरेर सञ्चालन हुने अटोरिक्साहरूको बदनामी हुने गरेको उल्लेख गरे।

कार्यक्रममा हरियाली यातायातका पूर्व अध्यक्ष इन्द्रध्वज मल्लले नगरपालिकासँग हरियाली यातायातको टोली नै वार्ताको टेबलमा बस्नुपर्ने बताए। उनले, “एकएक गरेर होइन, सामूहिक पहलले मात्र समस्याको समाधान सम्भव हुन्छ,” भने।

त्यस्तै, हालका अध्यक्ष कृष्णप्रसाद तिवारीले पछिल्ला समयमा इ–रिक्सासँग सम्बन्धित धेरै गुनासो आएको बताए। उनले भने, “यी रिक्साले मान्छेलाई हानेर भाग्ने, यात्रुले बिर्सिएका सामान फिर्ता नपाउने जस्ता समस्या आएका छन्। तर यी समस्या दर्ता भएका इ–रिक्साबाट होइन, बिना दर्ता चलिरहेका रिक्साबाट हुने गरेका हुन्।”

कार्यक्रमकै अवसरमा स्थापना कालदेखि व्यवस्थापन र लेखा हेर्दै आएका कमलप्रसाद पोख्रेललाई प्रशंसापत्रसहित बिदाइ गरिएको थियो। कार्यक्रममा सचिव गोपालप्रसाद रिजालले सञ्चालन गरेका थिए।

You might also like