रुपन्देही ३ मा नेपाली कांग्रेसको पालिका संवाद : संगठन सुदृढीकरणमा जोड

रुपन्देही क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेस बुटवलले आयोजना गरेको पालिका संवाद कार्यक्रम लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उद्घाटन गर्नुभयो। उहाँले यो संवाद जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध अझ सुमधुर बनाउन कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई बलियो बनाउन अबको कार्ययोजना तत्कालै बनाउनुपर्नेमा जोड दिए। उनीहरूले कांग्रेस निर्वाचनकै बेला मात्र सक्रिय हुने प्रवृत्ति दीर्घकालीन रूपमा हानिकारक हुने भन्दै यसलाई सुधार्नुपर्ने धारणा राखे।

महिला नेतृहरूले नेपाल महिला सङ्घको निर्वाचन नभएकाले महिलाहरू नेतृत्वविहीन बन्न पुगेको बताएका थिए। जिल्ला सदस्य राधा ज्ञवालीले महिला सङ्घको निर्वाचन नभएकाले महिलाहरूको सशक्तिकरणमा ठुलो असर परेको बताइन्।

वडा नम्बर १७ का सभापति बाबुराम घिमिरेले कांग्रेसलाई केवल चुनाव केन्द्रित नभई संगठन सुदृढ गर्ने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार संगठन बलियो बनाउने खाले गतिविधि निरन्तर गर्न आवश्यक छ।

प्रदेश सभापति अमरसिंह पुनले संवाद कार्यक्रमले जनप्रतिनिधिहरूले गरेका कामबारे जानकारी आदानप्रदान हुनुका साथै संगठन र प्रतिनिधिबीचको सम्बन्ध मजबुत बनाउने बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिका नगर सभापति तथा मेयर खेलराज पाण्डेको सभापतित्वमा सचिव गङ्गा पन्थीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा प्रदेश सदस्य रामबहादुर कार्की, वडा नम्बर ११ का सभापति जितबहादुर मल्ल, प्रदेश सदस्य बिमलराज भट्टराई, महासमिति सदस्य रिता केसी, वडा नम्बर ८ का अध्यक्ष यज्ञप्रसाद पंगेनी, वडा नम्बर १५ का सभापति शेषनारायण नेपाललगायतले पनि पार्टी सुदृढीकरणका विषयमा धारणा राखेका थिए।

You might also like