किन छाेड्दैछन अमेरिकीहरू आफ्नो देश ?
आलाेक अग्रहरी
स्तम्भकार
संसारमा धेरै मानिसहरू अमेरिका गएर त्यहाँ बस्ने सपना देख्छन्। विशेषगरी नेपालमा यसका लागि मरिहत्ते गरिन्छ । जबकि अमेरिकाका जनता आफ्नो देशको वातावरणबाट असन्तुष्ट छन् । हाल उनीहरू अमेरिका छोडेर युरोपमा बस्न जाने लहर चलेको छ।
वास्तवमा बराक ओबामा राष्ट्रपति हुँदाका बखत देखिनै अमेरिकीहरूको युरोपमा बसाइँ सर्ने सिलसिला शुरुआत भएको हाे । सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि यसले थप गति लियो । अमेरिकीहरू देश छोडेर युरोपमा बसोबास गर्नुको मुख्य कारण राजनीतिक द्वन्द्व का अलावा अन्य विभिन्न कारण छन् ।
युरोपमा अहिले काम गर्ने वातावरणमा भाषाको बाध्यता छैन। अंग्रेजी भाषीले सजिलैसँग युरोपमा काम पाउँछन् ।
युरोपमा बाँच्ने स्वतन्त्रता, सस्तो जीवनयापन जस्ता अन्य कारणहरू पनि समावेश छन्।

अमेरिका छोड्ने ठूलो संख्यामा अश्वेत र उदारवादी छन्। सन् २०२२ सम्ममा नेदरल्याण्ड र स्पेनमा बसोबास गर्ने अमेरिकीहरूको संख्या २०१३ को तुलनामा झण्डै दोब्बर भएको छ र पोर्चुगलमा यो अवधिमा तीन गुणा बढेको छ। फ्रान्स, जर्मनी र नर्डिक देशहरूमा आप्रवासी अमेरिकीहरूको संख्या बढेको छ।
उसाे त अमेरिकामा कामको जीवन सन्तुलित मानिन्छ। तर सत्य यो हो कि अमेरिकी कामदारहरूले प्रत्येक वर्ष काममा १,८११घण्टा बिताउँछन् जबकि युरोपमा १,५७१ घण्टा मात्रै हुन्छ । नेदरल्याण्डमा, एक वर्षमा काम गर्ने घण्टा मात्र १,४२७ छ। अर्थात्, अमेरिकीहरूले युरोपेलीहरू भन्दा औसत ३०० घण्टा बढी काम गरिरहेका छन्।
युरोपमा कुनै भाषिक बाधा नहुनु: अंग्रेजीमा शिक्षा, रोजगारीमा एउटै भाषा
संसारभर अंग्रेजीको उदयले अमेरिकीहरूको लागि परिस्थिति सजिलो बनाएको छ। आज, नेदरल्याण्डका विश्वविद्यालयहरूमा २८% स्नातक कार्यक्रमहरू अंग्रेजीमा सञ्चालन गरिन्छ। अनलाइन जागिरका विज्ञापनहरूमा, अंग्रेजी जान्ने मानिसहरूलाई जत्तिकै डच भाषा जान्ने मानिसहरूको आवश्यकता छ। अमेरिकीहरू यसबाट विशेष आकर्षित छन्।
सामाजिक-पारिवारिक सुरक्षाको राम्रो अनुभूति: ३३ करोड जनसंख्या भएका अमेरिकीहरू पनि युरोपको राम्रो सामाजिक सुरक्षा कार्यक्रमबाट आकर्षित छन। डेमोक्र्याटका तत्कालीन नेता न्यान्सी पेलोसीकी पूर्व सहयोगी क्यारोलिन बेह्रिङ्गरले सन् २०१७ मा नै अमेरिका छाडेकी थिइन् ।
अमेरिकी डायस्पोरासँगको सबैभन्दा ठूलो समस्या दोहोरो कर हो। संसारका लगभग सबै देशहरू भन्दा फरक, संयुक्त राज्यले आफ्ना नागरिकहरूलाई देशमा नबस्ने भए पनि कर लगाउँछ।
बन्दुक हिंसाः यस्ता घटनाका कारण वर्षेनी ३९ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।
बन्दुक हिंसा अमेरिकामा एक प्रमुख खतरा रहन्छ। प्यू रिसर्चको जुनमा गरिएको सर्वेक्षण अनुसार ६० प्रतिशत अमेरिकीहरूले यसलाई प्रमुख समस्या ठान्छन्। यही खतराका कारण मानिसमा बन्दुक किन्ने हाेड छ । बन्दुक हिंसा अभिलेखको तथ्यांकअनुसार यस वर्षको जुलाईसम्म बन्दुकसँग सम्बन्धित घटनामा २५ हजारभन्दा बढीको मृत्यु भएको छ । २०१४ देखि २०२२ सम्म यस्तो घटनामा औसतमा ३९ हजारभन्दा बढीको ज्यान गएको छ ।
भेदभाव: झण्डै आधा अश्वेतहरूले उनीहरू जातिवादको शिकार भएको स्वीकार गर्छन् ।
जर्ज फ्लोयडको मृत्युपछिको द्वन्द्वले अमेरिकामा जातीय घृणालाई पनि उत्तेजित गरेको छ। जुनमा गरिएको वाशिङ्टन पोस्टको सर्वेक्षणअनुसार आधाभन्दा बढी अश्वेतहरू आफूविरुद्ध हिंसा र जातीय भेदभावको डर रहेको अनुभव गर्छन।
अमेरिकीहरू अमेरिका छोड्दै छन् राजनैतिक, सामाजिक र नागरिक अन्यायहरूबाट बच्न जो वर्षौं वर्ष देखि बेराेकटाेक चलिरहेको छ । उनीहरू जाँदैछन सहिष्णु र प्रगतिशील संस्कृतिहरू काे खाेजमा जहाँ तिनीहरू डर त्रासको धम्की बिना निश्चिंत भई बाच्न पाउनेछन् ।
अमेरिकामा स्वास्थ्य सेवा प्रणाली बिग्रिएको छ । यो दुखद अवस्था हो जब कुनै देशका मानिसहरू उपचार खर्च गर्न नसक्ने वा प्रयास गर्न असफल हुने डरले बिरामी हुन डराउँछन्। सत्य के हो भने, अमेरिकामा स्वास्थ्य सेवा अत्याधिक महँगो छ, जुन तल्ला वर्गले वहन गर्न सक्दैनन् । उनीहरू विश्वव्यापी स्वास्थ्य सेवा, किफायती स्वास्थ्य सेवा, राम्रो स्वास्थ्य सेवा, र बिरामीहरूको कल्याणलाई पहिलो स्थानमा राख्ने प्रणालीहरूको खोजीमा छन। वेस्ट हेल्थ एन्ड ग्यालपद्वारा गरिएको एउटा सर्वेक्षण अनुसार, करिब ४ करोड ६० लाख अमेरिकीहरू अर्थात २०% अमेरिकी नागरिक आवश्यक स्वास्थ्य सेवाहरू वहन गर्न सक्दैनन्।
अमेरिकीहरू सपनाको घर खोज्न थप किफायती-सस्तो , आवास, कम अस्थिर रियल स्टेट बजार र नयाँ जग्गाहरूको खोजीमा पनि सर्ने क्रम बढेको छ।
फेडरल रिजर्भको तथ्याङ्क अनुसार घरको बिक्री बढ्दै गएपछि, सक्रिय आवास सूचीहरू घटेको छ र औसत घर बिक्री मूल्य बढेको छ।
कति अमेरिकी विदेशमा बस्छन् भन्ने यकिन तथ्यांक छैन। संयुक्त राज्य जनगणना ब्यूरोले विदेशमा रहेका अमेरिकीहरूलाई गणना गर्दैन, र व्यक्तिगत अमेरिकी दूतावासहरूले मात्र मोटामाेटी अनुमानहरू दिन्छन् ।
अमेरिकी प्रवासीहरूका लागि शीर्ष तीन देशहरू मेक्सिको, क्यानडा र युनाइटेड किंगडम हुन्, जुन सबै राज्यहरूसँगको निकटता र आजीविकाको कम लागतको लागि लोकप्रिय छन्।
एसोसिएसन अफ अमेरिकन रेसिडेन्ट्स ओभरसीज (एएआरओ) का अनुसार, अमेरिकी प्रवासीहरू १६० भन्दा बढी देशहरूमा फेला पार्न सकिन्छ: ४०% पश्चिमी गोलार्ध – क्यानाडा, मध्य र दक्षिण अमेरिकाको लागि रोज्छन्, २६% युरोपमा सर्छन, १४% पूर्वी एसिया र प्रशान्त तर्फ जान्छन – जस्ताे अष्ट्रेलिया र न्यूजील्याण्डका साथै चीन र जापान।