नेपाली काँग्रेसको भातृ तथा सुभेच्छुक संस्थामा निर्वाचितलाई सम्मान
नेपाली काँग्रेस रुपन्देहीले पार्टीका भातृ संगठन, सुभेच्छुक संघसंस्थामा निर्वाचित अध्यक्ष तथा मनोनित भएकाहरुलाई सम्मान गरेको छ । नेपाली काँग्रेस रुपन्देहीले मंगलबार पार्टी कार्यालय भैरहवामा एक कार्यक्रमको आयोजना गरी पार्टीका भातृ तथा सुभेच्छुक संघसंस्थामा निर्वाचित अध्यक्ष तथा मनोनित भएकाहरुलाई सम्मान गरेको हो ।
त्यस अवसरमा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले भातृ तथा सुभेच्छुक संघसंस्थाका गतिबिधिले पार्टीलाई चलायमान बनाउने बताउँदै भातृ तथा सुभेच्छुक संघसंस्थाहरुका गतिबिधिलाई पार्टीले पनि अपनत्व ग्रहण गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले भातृ तथा सुभेच्छुक संस्घसंस्थालाई चलायमान गराउने कुरामा पार्टीले सहयोग गर्नुपर्ने र त्यसमा पार्टी र व्यक्तिगत रुपमा आफू पनि सहयोग गर्न तयार रहेको भनाई राख्नुभयो ।
त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले चुनावका वेला कुनै समुहमा चुनाव लडेपनि जितिसकेपछि साझा भएर काम गर्न भातृ तथा सुभेच्छुक संघसंस्थालाई आग्रह गर्नुभयो । उहाँले भातृ तथा सुभेच्छुक संघसंस्थाहरुका कृयाकलापमा सहयोग गर्नका लागि पनि पार्टी नेतृत्व र स्थानीय तहमा निर्वाचित पार्टीका नेताहरुलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा बोल्ने वक्ताहरुले पार्टीलाई साझा बनाउन र विधि र पद्धतीमा अगाडि बढाउन सुझाव दिएका थिए । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ, रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकाल, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझी, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, नेपाल तरुण दलका केन्द्रीय सदस्य केशव पाण्डे, रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ, किसान संघ लुम्बिनी प्रदेश संयोजक वेगबहादुर कुवर, नेपाल व्यूटिसियन संघ रुपन्देहीकी अध्यक्ष अनिता केसी, नेपाल निर्माण तथा संवद्ध श्रमिक संघ (काउन) रुपन्देहीका अध्यक्ष सुर्यदेव दास लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव हरि काफ्लेको सञ्चालनमा भएको थियो ।