काँग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुन्छ ः सहमहामन्त्री पाण्डे
नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेस बलियो भएमात्रै देशमा लोकतन्त्र बलियो हुने बताउनु भएको छ । उहाँले काँग्रेसकै नेतृत्वमा राणा शासन अन्त्य २०४६ सालको परिवर्तन र २०६२।०६३ को आन्दोलनको नेतृत्व पनि नेपाली काँग्रेसले नै गरेको स्मरण गर्नुभयो ।
उहाँले २०६२।०६३ को आन्दोलनबाट काँग्रेसका संस्थापक नेता महामानव विपि कोइरालाले देखेको सपना पुरा भएको बताउँदै लोकतान्त्रिक मुल्यमान्यता र समाजवादको बाटो पहिल्याउने नेता विपिका विचारको अहिले पनि उत्तिकै सान्दर्भिकता रहेको भनाई राख्नुभयो । नेपाली काँग्रेस क्षेत्र नं. १ रुपन्देहीले शनिबार देवदहमा आयोजना गरेको माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै सहमहामन्त्री पाण्डेले विपिले देखाएको समाजवादको सपना पुरा गर्नको लागि पनि बलियो काँग्रेसको आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले गुटउपगुटका कारण अहिले काँग्रेस कमजोर भएको बताउँदै देशलाई बलियो बनाउन र नेता कार्यकर्ताको भविश्यको लागि पनि गुटउपगुटको अन्त्य हुनुपर्ने भनाई राख्नुभयो ।
त्यस्तै क्षेत्रीय सभापति हिराबहादुर खत्रीले विपि कोईरालाको योगदानको बारेमा चर्चा गर्न र उहाँको बारेमा विद्यार्थीलाई जानकारी गराउनको लागि पनि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । कार्यक्रम क्षेत्रीय उपसभापति नविनराज आचार्यको स्वागत तथा सचिव विजय गुरुङको सञ्चालनमा भएको थियो ।