जनमतका पश्चिम मधेश कमाण्डर यादवलाई कारवाही पछि कार्यकर्ता आक्रोसित

साउन ४, बुटवल
जनमत पार्टीका पश्चिम मधेशका प्रभावशाली नेता भोपेन्द्र प्रसाद यादवलाई कारवाही गरेको पत्र सार्वजनिक भए संगै कार्यकर्ता र समर्थकहरु आक्रोसित बनेका छन् । पार्टी केन्द्रको निर्णयको विरोध गर्दै कार्यकर्ताहरुले सामाजिक सञ्चालहरुमा चर्को विरोध समेत जनाएका छन् ।
यादव जनमत पार्टीको महाधिवेशनबाट निर्वाचित राष्ट्रिय सचिव हुन् । जनमतको नारायणी पश्चिमका जिल्लाहरुको संगठन विस्तार गर्ने र पार्टीलाई अहिलेको भुमिका सम्म ल्याउने नेता यादवनै हुन् । जनमत पार्टीको रुपन्देही , नवलपरासी , कपिलवस्तु , बाँके , वर्दियामा राम्रो सांगाठनिक उपस्थिती छ । यस्तै , लुम्बिनी प्रदेशमा समेत राम्रो जनमत पार्टीबाट तिन जना सांसद रहेका छन् । पार्टीको मुख्य नेतृत्व मधेश प्रदेशमा मात्रै केन्द्रित भैरहेको समयमा पनि लुम्बिनी प्रदेशका जिल्लाहरुमा संगठन विस्तार गर्दै जनमतको उपस्थिती दह्रो बनाउने नेता भोपेन्द्र यादवनै हुन् ।
रुपन्देहीको मर्चवार क्षेत्रबाट प्रतिनिधी सभामा निर्वाचन लडेका यादवले १७ हजार भन्दा बढि मत पाएपनि झिनो मतान्तरले विजय हुन सकेनन् । रुपन्देहीमा जनमत तेश्रो ठुलो दलको रुपमा रहेको छ यसको श्रेय पनि यादवलाई नै जान्छ । स्वतन्त्र मधेश गठबन्धन देखि जनमत पार्टीको सम्मको एघार वर्षको यात्रामा यादवले डा. सीके राउतलाई सधै साथ र सहयोग गर्दै आएका थिए । यस्तै , पार्टीले आयोजना गरेका विभिन्न आन्दोलनहरुमा दर्जनौँ पटक कष्ठकर जेलजिवन विताउनु परेको थियो ।
यादवले जमिनदारी शासन व्यवस्थाको विरोध गर्दै शोषित पिडित जनताको पक्षमा बोल्ने र आम सर्वसाधारण जनताको लागि काम गर्दै आएका थिए । यस्तै , पश्चिम मधेसमा किसान आन्दोलनको नेतृत्व गरेर किसानको हक र अधिकारका लागि समेत पटक पटक यादव लड्दै आएका हुन् ।
उनै यादवलाई केन्द्रीय सचिवलायबाट तिन महिनाको लागि निलम्बन गर्ने निर्णय सार्वजनिक भएसंगै पार्टीको केन्द्रीय नेतृत्व संग पश्चिम मधेशनै रुष्ट बनेको छ । जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले केन्द्रीय निर्देशनको उल्लंघन गरेको र गर्न लगाएको , गूटबन्दी गरेको भन्दै केन्द्रिय सचिवालयबाट तिन महिनाको लागि निलम्बन गरेको केन्द्रीय अनुशासन समितिका प्रमुख तथा राष्ट्रिय उपाध्यक्ष दिपक कुमार साहलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पार्टी निर्माण र संगठन बनाउनकै लागि जिवन विताएका यादवलाई नै कुनै ठोस आधार विना कारवाही गरेको भन्दै कार्यकर्ताहरुले सम्पुर्ण स्वराजीहरुका आँखा पिडाले रसाएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा देखिएका कतिपय स्ट्याटसमा पार्टीका अध्यक्ष डा.सीके राउतलाई सम्बोधन गर्दै लेखिएको छ , “केही चप्लुसी र पैसावाला गाडीवालाहरुको कुरा सुनेर इमानदार र पार्टीका अग्रणी नेतालाई बिना कुनै ठोस आधार कारवाहीको डण्डा चलाउँदा अलिकति पनि मन दुखेन हजुरको ? संगठन , पार्टी र तपाईका हरेक दुःखमा खम्बा बनेर उभिने र अलिकति पनि विचलित नुने महान योद्धा हुन यादव । घर परिवारका अनेक कठिनाई , आर्थिक संकटका बाब्जुद पनि पार्टी सिद्धान्त प्रति कहिल्यै विचलित नभएका यादवलाई फल स्वरुप रामै पुरस्कार दिनु भयो ।”
कतिपय कार्यकर्ताले राष्ट्रिय सचिव यादवलाई कारवाही गर्दा लगाएका आरोपको घोर निन्दा गर्दै पार्टीको केन्द्रीय नेतृत्वको पागलपनको संज्ञा दिएका छन् । यस्तै , यस्तो कारवाही तत्काल फिर्ता नभए अनर्थ हुन सक्ने चेतावनी समेत दिएका छन् ।
पार्टीले गरेको कारवाहीको विषयमा राष्ट्रिय सचिव यादव भने मौन छन् र कुनै प्रतिकृया दिन मानेन् ।

You might also like