लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली बहादुर चौधरी नियुक्त
बुटवल, १४ बैशाख ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक कुमार शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
चौधरी नेकपा माओवादी केन्द्र सहित ८ दलीय गठबन्धनका ५३ जना प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख शेरचनले बिहिबार दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।
नेता चौधरीले आज दिउँसो ५३ पदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
८७ सदस्यी लुम्बिनी प्रदेश सभामा सरकार गठनको लागि कम्तिमा पनि ४४ सांसदको आवश्यकता पर्दछ ।
अहिले संसदमा नेकपा एमालेका २९ , नेपाली काँग्रेसका २७ , नेकपा माओबादी केन्द्रका १० , राप्रपा , नागरिक उन्मिुक्ति पार्टीका ४–४,जसपा , लोसपा , जनमत पार्टीका ३–३ ,नेकपा एकीकृत समाजबादी ,राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद १–१ जना रहेका छन ।
नेकपा एमालेका नेता लिला गिरी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । चौधरीको शपथ ग्रहण भने शुक्रबार बिहान ११ः३० बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा राखिएको छ ।