भारतबाट ग्यासबाहेक सबै इन्धनको मूल्य घटेर आयो
नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेशन खाना पकाउने ग्यास बाहेक सबैको मूल्य घटाएर पठाएको छ ।
जस अनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार निगमलाई डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा घटेर आएको छ ।
यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटेर आएको निगमले जनाएको छ ।
निगमलाई प्राप्त नयाँ मूल्य अनुसार खाना पकाउने ग्यासको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।