प्रदेशको औचित्य पुष्टि हुनेगरी जनताको काम गर्न जरुरी : पुर्वमन्त्री राना

बुटवल,१७ फागुन ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बीर बहादुर रानाले राजनीतिमा नैतिकता र सद्चरित्रको खडेरी पर्दै गएको बताएका छन् ।

आज बसेको प्रदेश सभाको छैठौं बैठकमा बिशेष समय लिएर बोल्दै रानाले लोकतन्त्रमा नैतिकता र सद्चरित्र अनिवार्य शर्त भए पनि राजनीतिमा नैतिकता र सद्चरित्रको खडेरी पर्दै गएको बताएका हुन् ।

एकअर्कालाई दोषारोपण गरेर समस्या समाधान नहुने भन्दै उनले प्रदेशको औचित्य पुष्टि गर्नेगरी जनताका काम गर्नुपर्नेमा जोड दिए ।
संघीयता कार्यान्वयन भएको छोटो समयमै प्रदेशको औचित्यमाथि प्रश्न उठ्न थालेको भन्दै रानाले कसका कारण यस्तो अवस्था आयो भनेर गम्भीर समिक्षा गर्नुपर्ने बेला आएको बताए ।

कृषि प्रधान मुलुक नेपालमा सधै मल बिउको अभाव हुने गरेको भन्दै उनले खेती गर्ने समयमा किसानलाई मल र बिउको अभाव हुन नदिने ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

स्वास्थ्य वीमा गरेका जनताले स्वास्थ्य वीमाबाट लाभ लिन नसकेको बताउदै कांग्रेस नेता समेत रहेका रानाले स्वास्थ्य वीमा गरेका जनताले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने वातावरण बनाउन आग्रह गरे ।

बैठकमा प्रदेश सभा सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठले नौं वटा मात्रै मन्त्रालय बनाउने निर्णय गरेको प्रदेश सरकारले किन ११ सदस्सीय मन्त्रीपरिषद गठन गरेको भनि प्रश्न गरे ।

छापामार शैलीमा प्रदेशको राजधानी सारेर मन्त्रालयहरुको बेहाल बनाएको भन्दै उनले वडा कार्यालयका भवन हडपेर मन्त्रालय राखिए पनि जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न नसकेको दाबी गरे ।

राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डको दिनगन्ती सुरु हुने भन्दै उनले एउटै ब्यक्ति प्रचण्ड मात्रै प्रधानमन्त्री हुनुपर्छ भन्ने नभएको धारणा राखे ।

सार्वजनिक बिदा र दिवस सम्बन्धमा बर्तमान सरकारले अवलम्बन गरेको नीतिको आलोचना गर्दै उनले हिंसालाई दिवसको रुपमा मनाउन थालेको टिप्पणी गरे ।
प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनले भ्रष्टाचारीमाथी निर्मम नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने भन्दै मन्त्री हुनेले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट पार्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

आजको बैठकको बिशेष समयमा प्रदेश सभा सदस्य जन्मजय तिमिल्सेना,राज कुमार चौधरी,मीना कुमारी श्रेष्ठ,खेम बहादुर सारु,राजेन्द्र प्रसाद श्रेष्ठ,अम्बिका काफ्ले,भगवती अधिकारी,तारा थापाले बिभिन्न बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकको सुरुमा सभामुख त्ुलाराम घर्ती मगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त “मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन” सम्बन्धी पत्रहरु पढेर सुनाएका थिए ।

आजकै बैठकमा मुख्यमन्त्री लिला गिरीको तर्फबाट स्वास्थ्य मन्त्री बिष्णु प्रसाद पन्थीले “मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन” पेश गरेका थिए भने स्वास्थ्य मन्त्री पन्थीले “स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश” सभामा पेश गरे ।
प्रदेश सभाको अर्को बैठक सूचना पत्र मार्फत जानकारी गराइने प्रदेश सभा सचिवालयले जनाएको छ ।

You might also like