नरैनापुरमा शिक्षा सुधारको लागि शैक्षिक अन्तरक्रिया

बुटवल ,२३ मंसिर ।
बुटवल उपमहानगरपालिका १६ डहर गाउँकी हिमादेवी पौडेलका छोरा युजलले २ कक्षामा पढ्छन् । छोरा युजललाई २ वर्षसम्म उनले निजी विद्यालयमा पढाईन । तर हिमादेवीले यो शैक्षिक वर्षमा छोरा युजललाई घर नजिकै रहेको नरैनापुर आधारभूत विद्यालयमा भर्ना गरिन । “पहिले छोराको पढाई निकै कमजोर थियो ,अहिले प्रत्येक परीक्षामा ४ जिपिए ल्याउन सफल भएको छ ।” हिमादेवीले यो कुरा विद्यालयले शुक्रबार आयोजना गरेको शैक्षिक अन्तरक्रियामा राखेकी हुन ।

२ छोरीसँगै छोरालाई पनि बोर्डिङ्ग स्कूलमा पढाए उनले थपिन् –“अहिले बोडिङ्ग स्कूल छाडेर सामुदायिक विद्यालयमा छोरालाई भर्ना गरेकी छु र पढाईमा अब्बल बन्दै गएको छ ।” विद्यालयले लिने प्रत्येक परिक्षामा छोराले ४ जिपिए ल्याउने गरेको उनले सुनाईन । आफ्नै घर नजिकै रहेको सामुदायिक विद्यालयलाई सुधार गर्नुपर्ने र यो कुरा स्थानीय मै भर पर्ने पौडेलले बताईन । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो हुँदा पनि समाजसेवी बुद्धिजिवीले नै निजी विद्यालयमा विद्यार्थी भर्ना गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको गुनाशो पोखिन ।

शिक्षक र विद्यालय ब्यवस्थापन समितिको लगनशिलताले सामुदायिक विद्यालयमा सुधार आउँछ भन्ने पछिल्लो उदाहरण नरैनापुर आधारभूत विद्यालयले प्रस्तुत गरेको छ । बुटवल १६ मा रहेको विद्यालयले ८ महिनामै शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थी र अभिभावकको रोजाईमा पर्न सफल भएको यहाँका स्थानीयहरुले बताएका छन ।
सामुदायिक विद्यालयको शिक्षा क्षेत्रमा सुधार आए पनि घरघरमा पुगेर प्रचारप्रसार गर्न नसकेको भूतपुर्व शिक्षक सुर्दशन जोशीले गुनाशो राखे ।

सामुदायिक विद्यालयमा क्रमिक रुपमा सुधार आएको र शिक्षाको गुणस्तर बृद्धि हुँदा विद्यार्थीको चाप बढ्दै गएको बताए । सामुदायिक विद्यालयमा अब्बल तालिम प्राप्त ,डिग्री होल्डर शिक्षक छन तर विद्यालय घर–घरमा पुग्न नसक्दा केही विद्यालयमा विद्यार्थीको कमी आएको सुनाए । विद्यालयका जग्गादाता मदनमान श्रेष्ठका छोरा प्रवलमान श्रेष्ठले विद्यालयले पढाईसँगै विद्यार्थीको क्षमता बृद्धि गर्नको लागि अतिरिक्त क्रियाकलापमा जोड दिनु पर्ने शुझाँब दिए ।

सेमलार खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष प्रेम बहादुर पौडेलले बुटवल बजारका मात्र नभएर तिनाउ पारिका सामुदायिक विद्यालय पनि शिक्षा क्षेत्रमा अब्बल बन्दै गएको र नरैनापुर विद्यालय यसको उदाहरण रहेको दाबी गरे । नरैनापुर विद्यालयले ८ महिनाको समयमा नै शिक्षा क्षेत्रमा ब्यापक सुधार गर्दै विद्यार्थी र अभिभावकको रोजाईको केन्द्र बनेको बताए ।
बुटवल वडा नं. १६ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले शिक्षक र ब्यवस्थापन समितिको खटाईबाट नै शैक्षिक क्षेत्रमा सुधार देखा परेको बताए । उनले न्यून विद्यार्थी रहेको नैरनापुरमा शिक्षक र ब्यवस्थापन समितिको पहलबाटै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको बताए । सामुदायिक विद्यालयमा अब्बल शिक्षक भएको र अग्रेजी माध्यमबाट पढाई हुँदा अभिभावकको रोजाई सामुदायिक विद्यालय बन्न पुगेको पौडेलको भनाई छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुडामणी पौडेलले शिक्षकहरुको लगनशिलता र अभिभावकको चासोले गर्दा विद्यालयमा शैक्षिक सुधार गर्न सकिएको बताए । विद्यालयले अंग्रेजी माध्यमबाट मात्र शिक्षा प्रदान नगरेर विद्यार्थीको संस्कार र संस्कृति विकासमा जोड दिईएको बताए । सामुदायिक विद्यालयमा विद्यार्थीको आकृषण बृद्धि भईरहेको पौडेलले बताउँदै विद्यालयलाई आवश्यक पर्ने भौतिक संरचना निर्माणको लागि तीनै तहका सरकारबाट सहयोग आवश्यकता रहेकोमा जोड दिए । २०७८ को शैक्षिक सत्रमा ६५ विद्यार्थी रहेको विद्यालयमा अहिले बृद्धि भएर १५० पुगेको विद्यालयका प्रधानध्यापक अम्बिका अर्यालले जानकारी दिईन् ।

विद्यालयले शिक्षा क्षेत्रको लागि गर्नुपर्ने प्रयाश र अभिभावकको भूमिकालाई जोड दिएर शैक्षिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बतनाई । कक्षा आठसम्म पढाई हुने विद्यालयमा अहिले कक्षा पाँचसम्म अंग्रेजी माध्यमबाट पढाई भईरहेको अर्यालले बताईन । विद्यालयले मासिक रुपमा आन्तरिक परिक्षा सञ्चालन गर्दै विद्यार्थीको शैक्षिक अवस्थाका विषयमा अभिभावकसँग निरन्तर छलफल र संवाद गर्दै जाँदा शिक्षामा सुधार देखिएको उनले सुनाईन । २०२४ सालमा विद्यालय स्थापना भएको हो ।

You might also like