गठबन्धन बनेको छ, पवित्र हो कि अपवित्र भन्न सक्दिन गुटको राजनीति गर्दै गरौला,

भदौ, २०७९ जनकपुर– नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले नेकपा एमालेले संविधान असफल बनाउन खोजेपछि कांग्रेसको नेतृत्वमा बिचित्रको गठबन्धन बनेको बताएका छन्। वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाको जनकपुरधाममा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले गठबन्धनको औचित्य पुष्टि गर्न यस्तो बताएका हुन। एमालेको षडयन्त्र असफल बनाउन सिद्धान्त नमिले पनि दलहरुबीच गठबन्धन बनेको बताएका कोईरालाले तर यो गठबन्धन पवित्र हो कि अपवित्र भन्ने चै आफुले भन्न नसक्ने जनाए। ‘हामी गठबन्धनमा छौ । गठबन्धन कस्तो छ भने, एकदमै विचित्रको छ’ उनले भने–‘हामी प्रजातान्त्रिक विचार राख्छौ । गठबन्धनमा भएका कुनै दलसँग हाम्रो विचार मिल्दैन । तर पनि नेकपा एमालेले संविधान असफल बनाउन खोजेकोले गठबन्धन गर्नुपरेको हो । सिद्धान्त नमिल्ने दलहरुसँगको गठबन्धन पवित्र हो कि अपवित्र हो म भन्न सक्दिन। तर चुनावपछि मात्रै भन्न सकिन्छ ।’ उनले चुनाव जितेर सरकार बनाउन मात्रै गठबन्धन गरिनु राम्रो नभएको बताए। अर्कोतर्फ सिट बाँडफाटको विषयमा पनि कोईरालाले आफनो अडान स्पष्ट रुपमा राखेका छन। कांग्रेसले केन्द्रीय समितिमा गरेको निर्णयमा एकल बहुमत ल्याउनका लागि चुनावी तालमेल गर्ने भन्ने उल्लेख रहेकाले त्यसका लागि कांग्रेसले कम्तिमा १ सय सीट पाउनु पर्ने उनको भनाई छ। ‘तालमेल मात्रै होइन कांग्रेसको बहुमत हुने कुरा पनि हाम्रा लागि महत्वपूर्ण हो। त्यसका लागि त कम्तीमा १०० सीट कांग्रेसले लिनुपर्छ ।’– उनले भने। उनले अहिले गुटको राजीनति गर्ने समय नभएको भन्दै विना भेदभाव उम्मेदवार छनौट गर्न पनि उनले नेतृत्वको ध्यानाकर्षण गराए। उनले भने – ‘हामी कुनै गुटको राजनीति गर्दैनौ । गुटको राजनीति जतिबेला गर्नुपर्ने हो त्यतिबेला गरौला । तर अहिले कांग्रेसलाई चुनाव जिताउनुपर्ने छ । त्यसका लागि चुनाव जित्न सक्ने नेतालाई बिना भेदभाव टिकट दिनुपर्छ । टिकट वितरण न्यायोचित हुनुपर्छ ।

You might also like