लुम्बिनी प्रदेशका उद्योग मन्त्री शाही,नवलपरासी(पश्चिम)१बाट प्रतिनिधी सभामा उठ्दै
कांग्रेसका देवकरण कलवार वा विनोद चौधरी ,जनता प्रगतिशिल पार्टीका अध्यक्ष त्रिपाठी , एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारी लगाएतका नेताले उम्मेदवारी दिएकोे खण्डमा स्वतन्त्र रुपमै उम्मेदवार बन्ने शाहीले नै चुनौती दिने विश्लेषण गरिएको छ ।
लुम्बिनी प्रदेशका उद्योग, बाणिज्य तथा अपुर्ति मन्त्री अजय शाहीले नवलपरासी(पश्चिम)को निर्वाचन क्षेत्र नम्बर १मा प्रतिनिधी सभामा उठ्ने तयारी गरेका छन् । मन्त्री शाही नवलपरासी निर्वाचन क्षेत्र नम्बर १(ख)बाट स्वतन्त्र रुपमा विजय भएका थिए ।
प्रदेश सभाको निर्वाचनमा शाहीले १९ हजार ३३३ मत पाएका थिए भने उनका निकटम प्रतिस्पर्धी कांग्रेसका मुकुल कुमार आचार्यले १२ हजार ६०३ मत पाएका थिए ।
६हजार ७सय३० मतान्तरले विजय भएका शाही मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा भने नवलपरासीको क्षेत्र नम्बर १बाट प्रतिनिधी सभामा उम्मेदवार बन्ने तयारी गरेको उनको निजि सचिवालयले जनाएको छ ।
०७४कै निर्वाचनमा प्रतिनिधी सभामा उठ्ने तयारी गरेका शाहीलाई जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आफू प्रतिनिधी सभा लड्ने हुँदा एक पटक सघाउन आग्रह गरेका थिए । अर्को पटक प्रतिनिधी सभामा त्रिपाठीले सघाउने सर्त सहित शाही प्रदेशमा खुम्चिएका थिए ।
तर यो पटक शाहीले कुनै पनि हालतमा प्रतिनिधी सभामै उम्मेद्वारी दिने तयारी गरेका छन्। नवलपरासीमा शाहीको व्यक्तिगत प्रभाव राम्रो भएको नेताको रुपमा लिने गरिन्छ ।
मन्त्री अजय शाहीको निजि सचिवालय अनुसार शाही अबको निर्वाचनमा स्वतन्त्र रुपमै प्रतिनिधी सभामा उठ्ने तयारी गरिरहेको बताए । स्वतन्त्र रुपमै उम्मेद्वार बने पनि जित्ने आधार बलियो भएको हुँदा यस पटक कुनै सम्झौता नगर्ने एक सचिवलय सदस्यले बताए ।
उनले भने ,“मन्त्री विगत देखीनै प्रतिनिधी सभामा उठ्ने तयारी गर्नुभएको थियो तर हृदयेश त्रिपाठीको आग्रहमा उहाँ प्रदेशमा आउनु भएको हो । यस पटक कुनै सम्झौता नगरी प्रतिनिधी सभामै उठ्नु हुन्छ । उहाँको जनआधार पनि बलियो छ । ”
पश्चिम नवलपरासी जिल्लामा प्रतिनिधि सभातर्फ २ र प्रदेश सभातर्फ ४ वटा निर्वाचित क्षेत्र छन् ।नवलपरासीमा आउँदो निर्वाचनमा उद्योगी र अर्बपति विनोद चौधरी चुनाव लड्ने हल्ला गरिएको छ तर आधिकारीक रुपमा कुन क्षेत्रबाट लड्ने भनी खुलाईएको छैन ।
नवलपरासीको क्षेत्र नम्बर एकमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सूर्य चिह्नलिई नेकपा एमालेको सहयोगमा कांग्रेसका नेता देवकरण प्रसाद कलवारलाई ५ हजार १ मतान्तरले पराजित गरेका थिए । त्रिपाठीले राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरी स्वतन्त्र उम्मेदवारको हैसियतमा सूर्य चिह्न लिएर चुनाव लडेका थिए ।त्रिपाठीलाई निर्वाचनमा मन्त्री शाहीकै सहयोगले जित दिलाएको थियो ।
मंसिरमा हुने निर्वाचनमा स्व्यम् मन्त्री शाहीले प्रतिनिधी सभामा उम्मेद्वारी दिने तिव्र तयारी गरेपछि त्रिपाठीको स्थान के हुन्छ ,त्यसको अनुमान अझै कसैले गरेका छैनन् । कांग्रेसका देवकरण कलवार वा विनोद चौधरी ,जनता प्रगतिशिल पार्टीका अध्यक्ष त्रिपाठी , एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारी लगाएतका नेताले उम्मेदवारी दिएकोे खण्डमा स्वतन्त्र रुपमै उम्मेदवार बन्ने शाहीले नै चुनौती दिने विश्लेषण गरिएको छ । मन्त्री शाहीको सचिवालय अनुसार हाल गठबन्धनमै मन्त्री बनेको हुनाले गठबन्धनकै सहयोगमा उम्मेदवार दिन सक्ने जनाएको छ ।