जेनजी सहिदहरूको शवयात्रा , राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

महाराजगञ्जस्थित टिचिङ अस्पताल परिसरबाट जेनजी सहिदहरूको शवयात्रा सुरु गरिएको छ। चक्रपथ हुँदै चाबहिल मार्ग पार गरेपछि शवयात्रा पशुपति आर्यघाटमा पुगेको छ, जहाँ सहिदहरूको पार्थिव शरीरलाई अन्तिम दाहसंस्कार गरिँदैछ।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदमध्ये केहीको अन्त्येष्टि आर्यघाटमै भइरहेको छ भने बाँकीलाई आफ्ना जिल्लामा लगेर अन्त्येष्टि गर्ने तयारी परिवारले गरेका छन्।

सरकारले आन्दोलनमा ज्यान गुमाउने प्रत्येक सहिदलाई राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। साथै, पीडित परिवारलाई राहतस्वरूप १५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको छ।

जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।

You might also like