रामेश्वर खनाल अर्थमन्त्री हुँदै, कुनै सुविधा नलिने घोषणा

पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने पक्का भएको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उनलाई अर्थमन्त्री बनाउन निर्णय गरेको हो। औपचारिक नियुक्ति भने अझै बाँकी छ।

मन्त्री बन्ने निश्चित भएसँगै खनालले आफूले कुनै तलब, गाडी, मन्त्री क्वार्टर वा अन्य सुविधा नलिने घोषणा गरेका छन्। मन्त्रिपरिषद् निकट स्रोतका अनुसार उनले पिएसओसमेत नलिने बताएका छन्। हालको संवेदनशील परिस्थितीलाई ध्यानमा राख्दै प्रधानमन्त्रीको टिमले भने सुरक्षा मद्दतस्वरूप पिएसओ लिन आग्रह गरेको थियो। तर खनालले त्यो प्रस्ताव पनि अस्वीकार गरेको स्रोतले जानकारी दियो।

खनाल यसअघि पनि आफ्ना पदमा रहँदा यस्तै सादगीका लागि चर्चित रहँदै आएका थिए। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा उनले कुनै सेवा सुविधा नलिई काम गरेका थिए।

अर्थ मन्त्रालयमा लामो अनुभव बटुलेका खनाल पूर्वअर्थसचिव हुन्। तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग व्यवसायीहरूको करछली विषयमा मतभेद भएपछि उनले सचिव पदबाट राजीनामा दिएका थिए।

केही समयअघि मात्र खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए। उक्त प्रतिवेदनमा उनले अर्थतन्त्रका कमजोरी, समस्याका कारण, तत्कालका प्राथमिकता र दीर्घकालीन सुधारका उपायबारे विस्तृत सुझाव दिएका थिए।

You might also like