सहकारी मार्फत फोहोर व्यवस्थापन स्थानीय सरकार लाइ राहत
स्थानीय तह अन्तर्गत पर्ने फोहोर व्यवस्थापनको कानुन संघ सरकार बनाएपनि पूर्ण रूपमा कार्यान्वयमा नजाँदा स्थानीय तहमा फोहोर व्यवस्थापनमा अन्योलता छ ।
जेठ -२५ बुटवल
घरभित्र भान्साबाट निस्कने फोहोर होस् वा सामानसंगै भित्रने प्लाष्टिकजन्य फोहोर, दैनिक रुपमा घरबाट निस्कने फोहोर कहाँ व्यवस्थापन गर्ने ? बुटवल उपमहानगरपालिका वडा नं ८ लुम्बिनी पथकी सीता आचार्यलाई निकै चिन्ता थियो । घरमा संकलन भएको फोहोर कहिले नजिक जंगल त कहिले नालीमा फयाक्थिन् तर उनलाई फोहोर फाल्न जांदा छिमेकिले देखेर गाली पो गर्छन की ? भन्ने त्रास पनि उस्तै थियो । अहिले भने तिनै सीता घरमा उत्पादन हुने फोहोर सहजै ब्यवस्थापन गर्न पाउदा दंग छन् । अहिले सिताले घरबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी दुई थरी बकेटमा संकलन गरेको फोहोरलाई बुटवल उपमहानगरको सहकार्यमा सञ्चालन गरेको सरसफाई संस्थाले लैजान थालेपछि फोहोरको ब्यवस्थानको चिन्ता हराएको छ।
बुटवलको वडा नं ७ मा बुटवल उपमहानगर संगको सहकार्यमा बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्था स्थापना भएको छ । उक्त सहकारीले बुटवलको वडा नं ७ र ८ का अधिकांश बासिन्दाको घरबाट उत्सर्जन हुने फोहोर ब्यवस्थापन गर्दै आएको छ ।” पहिला सारै गरो थियो न फोहोर बोक्ने गाडी समयमा आउने न त फोहोर कतै खोलामा फाल्न पाहिने तर अहिले सहकारीले व्यवस्थापन थालेपछि भने सारै सजिलो भएको छ ” उनी भन्छिन् ।
बुटवल ८ बिर बलभद्र पथकै राम शर्मा पोखरेल पनि घरघरबाट निस्कने फोहोरलाई बैज्ञानिक ढंगबाट ब्यवस्थापन पाउदा खुसी छन । बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी स्थापना भएसंगै दिनहुजसो फोहोर संकलन गर्ने गाडी घरमा आउछ । उनी त्यसमै फोहोर फाल्छन् । फोहोर ब्यवस्थापनको नया शैलीले घरसँगै वरपरको वातावरण समेत सफा र स्वच्छ बनेको शर्मा बताउछन् । “सहकारीले फोहोर बचेर पैसा पनि कमाउँछ फोहोर पनि व्यवस्थापन गरी रहेको छ यस्तै सहकारी जता ततै खुले फोहोरको समस्या पक्कै हट्छ ” सर्मा भन्छन ।
धेरैजसो स्थानीय तहमा फोहर व्यवस्थापनको काम टाउको दुखाइ बनिरहेका बेला बुटवल उपमहानगरपालिकाका ७ र ८ वडामा सुरु गरिएको फोहोर व्यवस्थापन उदाहरणीय बनेको छ । २०७६ साल पुस १६ गते स्थापना भएको बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारीले २०७७ साल कार्तिकदेखि बुटवल उपमहानगरपालिका र शिबनगर सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा फोहोर व्यवस्थापन गर्दै आएको छ । फोहोर प्रशोधनका लागि करीब डेढ करोड रुपैया लागतमा नमुना फोहोर प्रशोधन केन्द्र स्थापना गरेको छ । २०७९ चैत २६ गतेबाट फोहोर संकलन र ब्यवस्थापन थालेको सहकारीले बिहान सबेरै ३ वटा टेक्टरबाट घरदैलो गरि फोहोर संकलन गर्दै आएको छ । फोहोरमैला व्यवस्थापन केन्द्रका संयोजक एवं फोहोरविज्ञ टोपलाल शर्मा फोहोर ब्यवस्थापन चुनौती देखिएको बेला स्थानियलाई फोहोर ब्यवस्थापनको ज्ञान र अवसर दिन सफल भएको बताउछन ।
यस केन्द्रमा बुटवलको वडा नं ७, ८ र १०का केही घरहरुबाट दैनिक उत्सर्जन हुने ५ टन फोहोर संकलन र ब्यवस्थापन हुदै आएको छ । परिमाण थोरै भएपनि नमुना फोहोर ब्यवस्थापनको शुरुवात भएको बाताबरण शाखा प्रमुख तुलसा अर्यालको भनाइ छ ।
बुटवलको सबै फोहोर कहा व्यवस्थापन र प्रशोधन गर्ने अझै अन्योलता कायमै छ । तथ्यांक अनुसार बुटवल उपमहानगरभित्र दैनिक ६० टन फोहोर उत्पादन हुन्छ । बढदो शहरीकरणले बुटवल नगरको फोहोर ब्यवस्थापन बनेको छ। बुटवल उपमहानगरपालिकाले फोहोरको ब्यवस्थापनका लागि देवदहको चरङगे वनमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्न ठेक्का सम्झौता समेत गरिसकेको थियो। तर स्थानीयले सहमती नदिदा सन २०१४ मा सम्झौता भएको त्यो परियोजना अगाडी बढन सकेन्। प्रसोधन केन्द्रका लागि जग्गा ब्यवस्थापन हुन नसकेको भन्दै लगानी कर्ताको रुपमा चासो देखाएको एडिवि समेत सन् २०१८ मा फिर्ता भएको थियो।
पछिल्लो समय बुटवल उपमहानगर, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, कञ्चन गाउँपालिका र कपिलवस्तुको बाणगंगा नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सैनामैना नगरपालिका वडा नम्बर १० खोरमोरमा अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र बनाउने भनेपनि निर्माणको काम अझै अगाडि बढेको छैन ।
स्थानीय तह अन्तर्गत पर्ने फोहोर व्यवस्थापनको कानुन संघ सरकार बनाएपनि पूर्ण रूपमा कार्यान्वयमा नजाँदा स्थानीय तहमा फोहोर व्यवस्थापनमा अन्योलता छ । स्थानीयतह भित्रका बन, खोला र उकास क्षेत्र संघ सरकार अन्तर्गत पर्ने भएकाले पनि कतिपयमा संरचना बनाएर फोहोर व्यवस्थापन गर्न कठिन भएको स्थानीय तहहरुको दाबी छ । फोहोर व्यवस्थापन विना सहर सफा, स्वच्छ र हराभरा हुदैन । यसैले संघले स्थान उपलब्ध गराउन सहजीकरण गर्ने र स्थानीय तहहरुले फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने काममा ढिलाइ गर्नुहुदैन ।