गुरुकुल एकेडेमीमा अभिभावककालागि हस्तलेखन क्षमता अभिवृद्धि कार्यशाला
बुटवल, ३ जेठ । बुटवल–११ कालिकानगर, कालिकाचोकमा रहेको गुरुकुल एकेडेमीले आफ्ना अभिभावकहरुको क्षमता विकासकालागि हस्तलेखन क्षमता अभिवृद्धि कार्यशाला गोष्ठि गरेको छ । विद्यालयले विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा वृद्धि गर्न तथा बालबालिकाहरुलाई गृहकार्य गराउदाँ शिक्षक र अभिभावक बीचमा एक रुपमा ल्याउनकालागि एक दिने हस्तलेखन क्षमता अभिवृद्धि कार्यशाला गरेको हो । विद्यालय संचालक समितिका अध्यक्ष चिरञ्जीवि खनालको अध्यक्षतामा भएको कार्यक्रममा न्यु होराईजन माविका एकेडेमिक कोर्डिनेटर तथा तारा हस्तलेखन प्रशिक्षक कपिल आचार्यले नेपाली, अंगे्रजी अक्षरको बनोट, आधार, लेखनशैली, शुद्धता र स्पष्टताका बारेमा सहजिकरण गर्नु भएको थियो । उहाँले अक्षरको आकार र बनोटका बारेमा जानकारी गराउँदै बालबालिकाहरुलाई सानै उमेरदेखि अक्षरमा स्पष्टता र शुद्धताका बारेमा ज्ञान र सीप सिकाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल साधना भण्डारीले विद्यार्थीको क्षमता विकास र शिक्षण सिकाइमा शिक्षक अभिभावक दुबैको भुमिका बरावर हुने भएकाले अभिभावकको क्षमता विकासकालागि हस्तलेखन क्षमता अभिवृद्धि कार्यक्रम राखिएको बताउनुभयो । उहाँले गुरुकुललाई साँच्चिकै गुरुकुलका रुपमा विकास गर्ने गरि योजना बनाएको उल्लेख गर्दै विद्यालयले विद्यार्थीसँगै अभिभावकको क्षमता विकासलागि समयसमयमा विभिन्न प्रकारका अभिभावक केन्द्रीत कार्यक्रम गर्दै आएको बताउनुभयो । विद्यालयका शिक्षकहरुको समेत सहभागितामा भएको कार्यक्रममा अभिभावकहरु रिता पाठक, मनिसा पाण्डे, मोहनप्रसाद पन्थी र देवराज तिमिल्सेनालगायतले विद्यालयले अक्षर लेख्ने सीपका बारेमा अभिभावकहरुको क्षमताको पनि विकास गर्ने अवसर दिएकोमा विद्यालयलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा ५० बढी अभिभावकहरुको सहभागिता रहेको विद्यालयका लेखाप्रमुख शिला कोइरालाले जानकारी दिनुभयो ।