बुटवलमा लखन थापा मगर स्मृति भलिबल प्रतियोगिता हुने
मंसिर २५ बुटवल
मगर समुदायको मौलिक पर्व मंसिर पूर्णिमाको अवसरमा बुटवलमा नेपालका प्रथम शहीद लखन थापा मगर स्मृति भलिबल प्रतियोगिता हुने भएको छ ।
मगर युवा संघ बुटवल उपमहानगरपालिका वडा नम्बर– ७ समितिले यही मंसिर २६ गतेदेखि ३० गतेसम्म खुला क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धन गर्दै युवालाई खेलकुदमा जोड्नका लागि प्रतियोगिता आयोजना गरिएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
समितिका अध्यक्ष कुमार रानामगरले प्रतियोगितालाई आगामी वर्षदेखि रनिङ शिल्डको रूपमा विकास गर्ने बताए । पाँच दिनसम्म चल्ने प्रतियोगितामा उपाधि चुम्ने टिमले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै गरी द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार प्राप्त गर्ने संरक्षक कृष्ण थापाले जानकारी दिए । १६ टिमको सहभागिता रहने प्रतियोगितामा टिम दर्ता शुल्क ३ हजार रुपैयाँ राखिएको छ ।
प्रतियोगितामा विधागत रूपमा पनि खेलाडीलाई सम्मान गरिने छ । नेपाल मगर संघ बुटवलका अध्यक्ष वसन्ती साठीघरे मगरले खेलकुदको विकास र संरक्षणमा मगर समुदायले काम गर्दै जाने बताइन् ।
समितिका सचिव सोनु रानामगरका अनुसार प्रतियोगिता अवलोकनको लागि निःशुल्क रहने छ ।
प्रतियोगिताको लागि बुटवल उपमहानगरपालिकाले १ लाख रुपैयाँ सहयोग गरेको छ ।
बुटवलमा विभिन्न राष्ट्रिय स्तरीय भलिबल प्रतियोगिता आयोजना हुँदै आएका छन् ।