सज्जन, दुर्जन, मूर्ख र धूर्त काे ?

आलेख आलोक अग्रहरी
सत्पुरुष, भलाद्मी, शरीफ र राम्रो आचरणकाे व्यक्ति सज्जन हुन। ‘सत्’ उपसर्गमा ‘जन’ प्रत्यय संधि गर्दा सज्जन शब्दकाे निर्माण हुन्छ। ‘सत्’ अर्थात, साँचो वा साधु, संस्कृतमा यसको अर्थ ‘छ’ हाे | यसको बहुबचन सन्त हाे, जो कि नेपालीमा ‘संत’ रूप मा प्रचलित छ | सत् शब्द काे धातुगत अर्थ हाे ‘अस्तित्व’ | जो छ त्यही सत् हाे | जसकाे अस्तित्व नै छैन त्यो असत् हाे । पुनश्च, “ब्रम्ह सत्यम् जगद् मिथ्या” का अनुसार ब्रम्ह या ईश्वर नै सत् हाे र याे संसार असत् हाे | अतः जसले ब्रम्ह काे सत्ता लाई जान्याे उनलाई संत भन्न सक्छौं | जसरी ब्रम्ह सत् हाे त्यसरी नै ब्रह्मज्ञ पनि सत् हाे ।रामचरित मानस मा भनिएको छ कि ‘जानत तुम्हहिं तुम्हहिं होइ जाई’ अर्थात् , ईश्वर लाई जान्ने लेने स्वयं ईश्वर हुन जान्छ । यसबाट स्पष्ट हुन्छ कि ईश्वर र संत मा कुनै भेद हुँदैन। यसरी हामीले देख्यौं कि सज्जन भनेकाे साधु जन, असल मान्छे वा इश्वरीय गुण भएका व्यक्ति हुन। यसरी, सज्जन को त भन्दा, जो दुर्जन छैन। फेरि दुर्जन को भन्दा, जाे सज्जन छैन वा जो धूर्त छ । मूर्ख र धूर्त एउटै होइन तर केही हदसम्म उस्तै चाहिँ हो । मूर्खले आफूलाई पनि हानि पुर्‍याउँछे भने धूर्तले सकभर आफू बाहेक अरूलाई मात्र बर्बाद गर्ने प्रयत्न गर्छ । दुर्जनकाे प्रकृति र प्रवृत्ति विषयमा चाणक्यले भनेका छन्:
दुर्जनस्य च सर्पस्य वरं सर्पो न दुर्जन ।
सर्पो दंशति काले तु दुर्जनस्तु पदे पदे।।

अर्थात, एक दुष्ट मानिसभन्दा एउटा सर्प कयौं गुना जाती हुन्छ। सर्पले आफ्नो आत्मरक्षाको लागि कहिलेकाइ मात्र डस्ने गर्छ ,तर दुष्ट ब्यक्ति ले हरेक क्षण तपाईंलाई डस्न तत्पर रहन्छ।
उसाे भए, सर्पको झैं दुर्जनकाे विष कहाँ हुन्छ त भन्ने प्रश्नमा चाणक्यले अगाडि भन्नुहुन्छ:
तक्षकस्य विषं दन्ते मक्षिकायास्तु मस्तक।
वृश्चिकस्य विषं पुच्छे सर्वाङ्गे दुर्जने विषम् ।

अर्थात, सर्पको दाँतमा विष रहन्छ । झिंगाको टाउकोमा विष हुन्छ । विच्छीको पुच्छरमा विष हुन्छ तर दुर्जनका सबै अङ्गमा विष भरिएको हुन्छ ।
यसर्थ, बुद्धिमान प्राणीले दुर्जनकाे संगत गर्नु हुँदैन । यदि, संगत गर्नै पर्ने भए सर्पकाे गर्नु तर, दुर्जनकाे संगत कदापि न गर्नु। संगत अनुसारको फल प्राप्त हुने भएकाले सज्जनसित नै संगत गर्नुपर्ने हुन्छ ।
नेयं सज्जन संगे चित्तम् ।
अर्थात, सज्जनको संगतमा चित्त लगाउनुपर्छ। सज्जनको संगत हृदयलाई शीतल बनाउने खालको हुन्छ भने दुर्जनको संगतले मनमा रिस, राग, द्वेष र ईर्ष्या काे उत्पत्ति हुन्छ । त्यस कारण दुर्जन सर्वथा परित्यज्य हुन्छ ।
दुर्जनः परिहर्तव्यो विद्ययालङ्कृतो पिसन्मणिना भूषितः सर्पः किमसौ न भयङ्करः ।
अर्थात, विद्वान् नै भए पनि दुर्जनसित संगत गर्नुहुँदैन । जसरी मणिले विभूषित भए पनि सर्प भयंकर हुन्छ, त्यसरी नै विद्वान् नै भए तापनि दुर्जन खतरनाक हुन्छ । त्यस कारण पढेका मानिस सबै सज्जन हुन्छन् भन्ने छैन । अरूको कुभलो गर्ने सीप पनि दुर्जन संग अत्याधिक हुन्छ ।
दुर्जनेन समं सख्यं प्रीतिञ्चापि नकारयेत्उष्णो दहति चांगारः शीतं कृष्णायते करम् ।
अर्थात, दुर्जनसित मित्रता र प्रेम दुवै गर्नुहुँदैन । जसरी अँगार तातो हुँदा पोल्छ र चिसो हुँदा हातै कालो बनाउँछ, दुर्जनले पनि जुनसुकै अवस्थामा हानि पुर्‍याउन सक्छ ।
आफ्ना वरिपरिका मानिसहरुकाे विचार गरौं । आफ्नै व्यवहारलाई पनि निर्मम भएर मनन गरौं । कतिपप लक्षणहरु हामी आफैँसित मिल्ने पनि हुन सक्छन्, जुन यथाशक्य सम्बाेधन गर्नुपर्ने हुन्छ ।
दुर्जनः प्रियवादी च नैव विश्वासकारणम्मधु तिष्ठति जिह्वाग्रे हृदि हलाहलं विषम् ।
दुर्जन र प्रियवादीमाथि विश्वास गर्नुहुँदैन किनभने यिनको जिब्रोमा मह हुन्छ र मनमा हलाहल विष । यसको मतलब प्रियवादी वा मिष्ठभाषी हुनु नै दुर्जन हुनुको लक्षण कदापि होइन । मिठो बोली त मानिसको उच्चकोटिको गुण हो । तर, दुर्जनहरूले त आफ्नो प्रमुख अस्त्र नै मिठो बोलीलाई बनाएका हुन्छन् ।
हुन त, हाम्रो बाेली मीठो हुनुपर्छ भन्ने मेराे मान्यता हाे। किन भने, शास्त्रले भन्छ:
प्रिय वाक्य प्रदानेन सर्वे तुष्यन्ति जन्तवः ।
तस्मत् तदेव वक्तव्यं वचने का दरिद्रता ।।

अर्थात्, मीठो वाणीले सम्पूर्ण प्रसन्न र सन्तुष्ट हुन्छन् सोही कारण सदैव मधुर वचननै वोल्नु राम्रो हाे, मीठो वचनको दरिद्रता किन ?
मधुर वाणीले सबैलाई वशमा गर्न सकिन्छ, त्यो विपरीत कटु वचनले भने सवै शत्रु हुनपुग्छन् ।
“वाचा वदामि मधुमद् भूयासं मधु संदृशः”
अर्थात, म बाट निस्केको बोली, व्यवहार सबै मह समान मीठो होस् । यो सनातन वाक्यलाई मान्ने हो भने संसार बाट कटुता, वैमनस्यता को अन्त्य हुन सक्छ । मानव मित्रता वढ्नुका साथै सबै हाँसी खुशी रहन सक्छौ । दुर्भाग्यवश, दुर्जनले यसै मीठो बाेलीलाई आफ्नो हतियार बनाउँछन्, सावधान।
अब कुरा गरौं मूर्ख र धूर्तका विषयमा । मूर्खका विषयमा कसैले भनेका छन:
मूर्खस्य पञ्च चिह्नानि गर्वो दुर्वचनं तथा ।
क्रोधश्च दृढवादश्च परवाक्येष्वनादरः ॥

मूर्ख का पाँच लक्षण छन्; घमंडी, दुष्ट वार्तालाप, क्रोधी, जिद्दी तर्क र अन्य व्यक्तिकाे राय का लागि सम्मान नहुनु । अर्थात, जाे अहङ्कारी छ, जसले दुर्वचन भन्दा पृथक बोल्नै जान्दैन, जो अत्याधिक हठ गर्छ, जाे अकारण दुःखी रहन्छ र जो अरूको कुरा फिटिक्कै मान्दैन ऊ निस्संदेह मूर्ख हाे । यसरी हामी पाउँछौं कि, मूर्खकाे संगत, मूर्खलाई उपदेश र मूर्खलाई उपकार गर्नेले सुख प्राप्त गर्न सक्दैन ।
अब, मूर्ख खतरनाक कि धूर्त भन्ने विषयलाई बुझौं । यसका लागि कसलाई धूर्त भनिन्छ भन्ने विषयमा शास्त्रकाे कथन छ:
मुखं पद्मदलाकारं वाचा चन्दनशीतला ।
हृदयं क्रोधसंयुक्तं त्रिविधं धूर्तलक्षणम् ।

मुख कमलपुष्प समान सुन्दर हुने, वचन चन्दन जस्तै शीतल हुने तर मनमा भने रिसको आहाल जमेको मान्छे नै धूर्त हो । शास्त्रोक्त वाणीअनुसार सज्जन हुनका लागि अनुहार राम्रो हुनुपर्छ भन्ने छैन । धूर्तको मुहार पनि मनोहर हुन सक्छ ।
धूर्त माने कपटी वा धाेका दिने व्यक्ति हाे। वास्तवमा, धूर्त र दुर्जन का बीच कतिपय समानता छन भने कतिपय भिन्नता । विषेशगरी, धुर्तताले चालाखीपन र धाेका दिने प्रवृत्ति लाई बढी जाेड दिन्छ भने, दुर्जनताले दुष्ट प्रकृति र प्रवृत्ति लाई इंगित गर्दछ। दुवै मध्ये कुन खतरनाक भन्ने विषय मानवकाे आ-आफ्नो अनुभव अनुसार भिन्न भिन्न हुने गर्दछ।
जहाँ मूर्खता, धुर्तता र दुर्जनताकाे सर्वथा अभाव रहन्छ, त्यहाँ सज्जनताकाे वास हुन्छ। निष्कर्षमा, धूर्त, मूर्ख र दूर्जनसंगकाे उपयुक्त दूरी राख्नु मै बुद्धि्मानी हुनेछ।

You might also like