पार्टी जोगाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट होऔँ – कांग्रेस नेता केसी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीले पार्टीको रुपान्तरणका लागि बचाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट भएर जानुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचितहरुलाई प्रमाणपत्र विवरण कार्यक्रममा नेता केसीले पार्टी जोगाउन पुनर्जागरण नै एकमात्र विकल्प भएको बताएका हुन् ।
उनले भने, ‘हामीले पार्टीलाई बचाउनको निम्ति सामाजिक पुनर्जागरणको आन्दोलन सम्पूर्ण रुपले एक भएर जानुपर्ने आवश्यकता छ ।’
उनले अब पनि वैचारिकको जागरणलाई सशक्त ढङ्गले जनस्तरसम्म पुर्याउन नसक्ने हो भने यसले पार्टीलाई ठूलो क्षति पुग्ने दाबीसमेत गरेका छन् ।
उनले २००७ सालको क्रान्तिदेखि अहिलेको कांग्रेसको स्थिति केलाउँदा फरक परिस्थिति सिर्जना भएको उल्लेख गर्दै भ्रष्टाचारजस्तो गलत प्रवृत्तिको संरक्षक भन्ने दाग लागेकाले त्यसलाई मेटाउन ठूलो चुनौती रहेको बताए ।
उनले कांग्रेसमाथि लागेको दाग चिर्न पनि जनस्तरमा जानुपर्नेमा जोड दिएका हुन् । उनले यसलाई वैचारिक जागरणको क्रान्तिका रुपमा अगाडि नबढाउने हो भने कांग्रेसभित्रको निराशाले विकल्प खोज्न थाल्ने भन्दै नेतृत्वलाई गम्भीर हुनसमेत आग्रह गरेका छन् ।
प्रमाणपत्र वितरण कार्यक्रममा युनियनका पूर्व महासचिव तथा काँग्रेसका केन्द्रीय सदस्य अजयवावु सिवाकोटीले पार्टी सभापतिले आफूहरुलाई कुनै जिम्मेवारी नदिएकाले कुनै काम गर्न नपाएको जानकारी दिदै युनियनको सक्रियता देखेर लोभ लागेको बताए ।
युनियनको नयाँ नेतृत्व आएपछि युनियनका ८ प्रदेश र ६० भन्दा बढी जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने बर्ष २०८० लाई प्रशिक्षण बर्षको रुपमा घोषणा गरेको युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिए छ । उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशन युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा गत जेठ १९ गते काठमाडौँमा भएको थियो । अधिवेशनले लिलाराज खनालको अध्यक्षतामा प्रथम कार्यसमिति सर्वसम्मत गठन गरेको थियो ।

You might also like