रुपन्देही-३ उपचुनाव : लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा

२२ असार, बुटवल । रुपन्देही-३ मा हुने उपनिर्वाचनमा बुटवलका एक युवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

निर्वाचन आयोगले आगामी कात्तिक १७ गते चुनाव हुने मिति तोकेको छ । चुनावको मिति तोकिएपछि पहिलोपटक बुटवल–१९ मोतिपुरका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गैरेले आइतबार पत्रकार सम्मेलन गरी उपनिर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक गरेका हुन् । गैरेले विद्यार्थी जीवनदेखि हालसम्म कुनै दलको सदस्यता नलिई स्वतन्त्र रहेकाले उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।

राज्यका हरेक निकायमा चरम राजनीतिकरण हुँदा नागरिकमा वितृष्णा बढेकाले सुशासन दिने राम्रा कानून बनाउन, वजेटको न्योचित र समानुपातिक वितरणका लागि स्वतन्त्र उम्मेदवारले जित्नुपर्ने गैरेको तर्क छ ।

२०५० सालदेखि बुटवलमा बस्दै आएका गैरले आफू क्षेत्र नं ३ को स्थानीय भएकाले यहाँका सबै वर्ग र समुदायका समस्यासंग जानकार रहेको बताए । ‘राजनीतिक दलहरुप्रति नागरिकमा वितृष्णा भएको देखेर जनभावना अनुसार स्वतन्त्र शब्दलाई न्याय दिन उम्मेदवार बन्ने निर्णय गरेको हुँ’, पत्रकार सम्मेलनमा गैरेले भने ।

गैरेले गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन, रुपन्देही ३ मा तिनाउ नदीमा स्थानीय तहहरुले लगाउने ठेक्कामा हरेक वर्ष करोडौं रुपैयाँको ढुंगा गिटी बालुवाको चोरी निकासीलाई नियन्त्रण, खुला सीमाबाट हुने भन्सार छली र चोरी निकासी नियन्त्रण, मल, बिउ र सिँचाइको समस्या समाधान, पर्यटन र सुशासन आफ्नो प्राथमिक एजेण्डा रहेको बताए ।

You might also like