मणिमुकुन्दमा फुड फेस्टिबल र ट्यालेन्ट शो
बुटवल । मणिमुकुन्द कलेज बुटवलमा कल्चरल फुड फेस्टिभल तथा ट्यालेन्ट शो प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै मणिमुकुन्द सेकेण्डरी स्कूल तथा कलेजका व्यवस्थापन समिति अध्यक्ष गम प्रसाद रेश्मीले संस्थाले विद्यार्थीको सर्वाङगीण विकासलाई प्राथमिकतामा राखेर अघि बढेकाले प्रदेशकै उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको बताए ।
कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले कलेजले हरेक वर्ष होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले कक्षा कोठामा सिकेको सीपलाई व्यवहारमा उतार्न सांस्कृतिक खाना महोत्सव तथा गायन र नृत्य कलामा रुचि भएका विद्यार्थीको क्षमता प्रष्फुटनका लागि एमएमसी गट ट्यालेन्ट शो प्रतियोगिता गर्दै आएको बताए ।
कल्चरल फुड फेस्टिबलमा विद्यार्थीहरुले ७ वटा स्टलमा विभिन्न खाना र खाजाका परिकार बनाउर विक्रि गरेका थिए । जसमा मगर, थारु र नेवारी खाना र खाजाका परिकारमा विशेष आकर्षण रहेको होटल म्यानेजमेन्टका प्राध्यापक दिलिप आलेले बताए । फुड फेस्टिबल कार्यक्रमको निरन्तरताले विद्यार्थीहरुमा सीपको निखारता र व्यवसायिक क्षमताको विकास भई उनीहरुलाई भविष्यमा व्यवसायी बन्न वा सजिलै रोजगारी पाउन सहज बनाउने होटल म्यानेजमेन्टका प्राध्यापक गोविन्द गाहाले बताए ।
एमएमसी ट्यालेन्ट शोमा कामना गुरुङ्ग प्रथम, समिर भट्टराई दोस्रो र निस्मा कसजु र सुर्पिया पन्थीको समूह तेस्रो तथा आशिष सिंह सान्त्वना भएका छन् ।
कार्यक्रममा स.स्था सञ्चालक समिति सदस्य उमापति न्यौपाने, कलेजका सह–प्राचार्य दिवाकर खनाल, बीबीएस संयोजक दिनेश पाण्डे, व्यवस्थापन संकाय संयोजक पशुपति चौधरी, विज्ञान संयोजक लक्ष्मण गैरे, प्राध्यापक बाबुराम गैरे, निर्णायकहरु बालकृष्ण पाण्डे, प्रेम नेपाली र विक्रम रानाले विद्यमार्थीलाई पाठ्यक्रमको ज्ञानसंगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउंदै योग्य नागरिक उत्पादन गर्न यस्ता कार्यक्रमले टेवा पुराउने बताए । मणिमुकुन्द कलेजमा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या मात्रै ३ सय बढी रहेका कलेजले जनाएको छ ।