शिक्षाको गुणस्तरीय विकासले मात्र समाज रूपान्तरण सम्भव : – मन्त्री तिमिल्सिना
बुटवल। शिक्षाको गुणस्तरीय विकासले मात्र समाज रूपान्तरण सम्भव हुने लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताएका छन्।
पाल्पामा आयोजित छैठौं तिनाउ गाउँपालिका स्तरीय राष्ट्रपति रंगीन शिल्ड प्रतियोगिताको समापन समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशमा गुणस्तरीय शिक्षामा सरकार केन्द्रित रहेको उल्लेख गरे। शिक्षाले समाज विकासमा महत्वपूर्ण योगदान दिने भएकाले यसलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशमा ८१ हजार विद्यार्थीले एसईई परीक्षा दिएका मध्ये ३१ हजारले उत्कृष्ट नतिजा हासिल गरे पनि ३९ हजार विद्यार्थी अनुत्तीर्ण भएको तथ्य उल्लेख गरे। उनले ती विद्यार्थीहरूको शैक्षिक भविष्य सुनिश्चित गर्न पुनः अध्ययन वा सीपमूलक तालिमतर्फ मार्गनिर्देशन गरिने बताए।
नेपालमा जनसङ्ख्याको लाभ उपयोग गर्न नसकिएको उल्लेख गर्दै उनले युवाहरूको विदेशिने क्रम बढ्दै गएकाले अबको २० वर्षपछि नेपालमा श्रमशक्ति अभाव हुने चेतावनी दिए। विदेशमा आश्रित नभई स्वदेशमै रोजगारी सिर्जना गर्न संघ, प्रदेश र स्थानीय तहको समन्वय आवश्यक रहेको उनले बताए।
लुम्बिनी प्रदेशमा रहेको लुम्बिनी विश्वविद्यालय र बाँकेको प्राविधिक विश्वविद्यालयलाई प्रदेशको शैक्षिक गौरवको रूपमा लिँदै उनले शिक्षालाई व्यावहारिक र जीवन उपयोगी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
मन्त्री तिमिल्सिनाले खेलकुदले अनुशासन र स्वस्थ जीवनशैली कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई पनि प्रोत्साहन गर्नुपर्ने बताए। प्रतियोगिताबाट जिल्ला हुँदै प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु आवश्यक रहेको उनको भनाइ थियो।
तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा सम्पन्न तीन दिने प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाए। प्रतियोगितामा पृथ्वी प्रकाश माविले प्रथम स्थान हासिल गर्दा तिलोत्तमा मावि दोस्रो तथा थानिडाँडा मावि तृतीय स्थानमा रहे। कपडी, भलिबल, एथलेटिक्स लगायत विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।