मिलनचोक देखि सुन्दरचोक सम्मको सडक विस्तार गर्दै वार्ड -८
सडक विस्तार पछि दुर्घटनामा कमी आउने विश्वास
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले आफ्नो वडा भित्रको मुख्य सडक बिस्तारको कामलाई तिब्रता दिएको छ ।
सडक बिस्तार अन्तरगत मिलनचोकबाट पूर्वतर्फ जाने हेवि ईक्युपमेन्ट क्षेत्रको सडक बिस्तार सकिएसंगै त्यसभन्दा अगाडीको सडक बिस्तारको काम अगाडि बढाएको हो ।
जसको शुभारम्भ बुधबार रोड मार्किङ गर्दै सडक नाप्ने अभियान शुभारम्भ गरिएको हो ।
वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनीले वडाको मुख्य सडकमा पर्ने यस क्षेत्रमा दुर्घटना बढेपछि सडकको चौडाई बढाउनुका साथै सडकपेटी निर्मण गर्न थालिएको बताए ।
२०५६ सालको मापदण्ड अनुसार ४१ फिट बाटो कायम हुने गरि नाली, सडकपेटी र सडक निर्माण गर्नेगरी सडक बिस्तारको लागि काम थालिएको वडाअध्यक्ष पंगेनीले बताए ।
उनले दुर्घटनाबाट वडाबासीलाई बचाउनुका साथै सडक राम्रो बन्दा यहाँका व्यवसायीहरुको ब्यापार बढ्ने तथा बहालमा जाने संभावना हुने भएकोले यो काम शुभारम्भ गरेको बताए ।
यो वर्ष सुन्दरचोक सम्म बिस्तार हुने सडक निर्माणको लागि प्रदेश सरकारको तर्फबाट ५० लाख बजेट साथै संबिधानसभा सदस्य बामदेब क्षेत्रीको तर्फबाट २० लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले जानकारी दिए ।
अर्को वर्ष सुन्दरचोकबाट भित्री बाटोसम्म पु¥याउने योजना रहेको उनले बताए । प्रदेश सरकारले टण्डर आव्हान गर्दै काम शुरु हुने उनले बताए ।
वडा नम्बर ८ का जनप्रतिनिधि, बुटवल उपमहानगरपालिकाका नक्सा शाखाका त्रिदेब बुढाथोकीको टिम तथा नगरप्रहरी सहित टोल समितिको सहभागितामा मार्किङ कार्य शुभारम्भ गरिएको उनले जानकारी दिए ।