मकर संक्रांति पर्वकाे सान्दर्भिकता
आलोक अग्रहरी
लेखक
मकर संक्रांति पर्वकाे सान्दर्भिकता बुझौं । संक्रान्ति काे अर्थ हाे सम्यक दिशामा क्रांति, जुन सामाजिक जीवनलाई उन्नयन गर्ने तथा मंगलकारी हो। मकर संक्रांतिमा सूर्य नारायण दक्षिणायन बाट उत्तरायणमा प्रवेश गर्दछन। सनातनी हिन्दू समाजमा समस्त शुभ कार्यहरुकाे प्रारंभ सूर्य काे उत्तरायण पश्चात् प्रारम्भ हुने गर्दछ। मकर संक्रांति पछि दिन लामो र रात छोटाे हुन थाल्छ। अझ यसलाई नकारात्मकता भन्दा सकारात्मकताकाे प्रभाव विस्तारकाे रूपमा बुझिन्छ।
संक्रांति अर्थात, सम्यक दिशामा क्रांतिलाई हामी मर्यादापुरुषाेत्तम प्रभु श्री रामचन्द्र जीकाे जीवन लीला बाट राम्ररी बुझ्न सक्छौं। श्री रामचन्द्र जी ले वन वन विचरण गर्दै तपस्वी माता सबरी काे जूठाे बेर खानुभयाे, निषादराज काे मित्रता काे मान राख्नुभयाे, जंगलमा वास गर्ने जीवहरु जस्तै पशु,पंक्षी, वानर, भालू, वन विरालाे, आदि सबैलाई एकजुट गरी सेना तैयार गर्नुभयाे र अधर्मका विरुद्ध युध्द लड्नु भयाे। याे संक्रांति काे सर्वोत्तम उदाहरण हाे।
मकर संक्रांतिकाे विशेष धार्मिक, सांस्कृतिक, सामाजिक, पौराणिक एवं वैज्ञानिक महत्व छ। यस दिन प्रात: पवित्र जलाशय, नदी अथवा नदीहरुको संगममा गई स्नान गर्नु उत्तम मानिन्छ। याे बेला तिल काे विशेष महत्व रहेकाले स्नान गर्दा जलमा तिलका दाना राखी नुहाउने गरिन्छ। तिलकाे लड्डू आदि परिकार तयार गरिन्छ र तिल काे प्रसाद चढ़ाइन्छ । साथै, खिचडी पकाई प्रसाद, खाजा अथवा खानाकाे रुपमा खाइन्छ। खिचडी, बालक देखि वृद्ध सम्म, विरामी देखि स्वस्थ्यसम्म, जुनसुकै भूगोलको मान्छे किन न हाेस, सुपाच्य, पाेषक तथा उपयुक्त भाेजनकाे रुपमा रहेको छ। वास्तवमा खिचडी त्यस्ताे परिकार हाे जसमा सबै खाद्य पदार्थ जस्तो चामल, दाल, साग-सब्जी, बेसार, अदुवा, मसला, घ्यू , नुन आदि एक आपसमा मिसाएर पकाइन्छ अनि सपरिवार प्रियजनका साथ बसेर प्रेमका साथ खाइन्छ। विश्वका समस्त सनातनी भलै जुनसुकै भूगोल, भाषाभाषी, रहनसहन शारीरिक बनावट, रूपरंगका किन नहाेउन, एकआपसमा घुलमिल भई सनातनी हिन्दु हुन, खिचडी हुन अन्ततोगत्वा एक हुन। यसरी वसुधैव कुटुम्बकम् काे भावनाले ओतप्रोत एकताको खाँचो वर्तमानमा अझै प्रासंगिक छ।