महाप्रलय किन निश्चित छ?
आलोक अग्रहरी
आयुर्वेदको महान् ग्रन्थ ‘चरक’ का रचयिता महर्षि पुनर्वसु आफ्नो अनुपम ग्रन्थ लेखेर वनमा जाँदै थिए । घना जङ्गलको बाटोमा उहाँ अगाडि र पछिपछि उहाँका शिष्य अग्निवेश थिए । एक्कासी महर्षि पुनर्वसु अडिए । उनले अगाडि हेरे, वरिपरि हेरे। अनि, उनले गहिरो सास फेरे र भने, “ठूलो विनाश आउँदैछ।” शिष्य अग्निवेशले सोधे- “कस्तो विनाश गुरुदेव?”
महर्षि पुनर्वसुले भन्नुभयो–“पानी घट्दै गएको, पृथ्वी बिग्रँदै गएको, वायु, तारा, आकाश, सूर्य र चन्द्रमा बिग्रँदै गएको देख्छु । अब, अन्नले आफ्नो शक्ति त्याग्नेछ। औषधिले आफ्नो प्रभाव छोड्नेछ। उल्कापिण्ड पृथ्वीमा खस्नेछन्। विनाशकारी आँधी आउनेछ। विनाशकारी भूकम्प आउनेछन्। ठूल्ठुला आग्नेयास्त्र तथा रणगाेलाहरु खस्नेछन। विनाशको ठूलो लहर उठ्नेछ। मानिस बाँच्दैन, बाँच्दैन। प्रलय निश्चित छ।”
यो कथा ‘चरक’ को ‘विमान-स्थान’ को तेस्रो अध्यायमा आउँछ। यसमा लेखिएको छ कि जब अग्निवेशले यो भयानक भविष्यवाणी सुने तब हात जोडेर भने – “गुरुदेव ! यो डरलाग्दो सर्वनाशकाे ताण्डव किन मञ्चन हुँदैछ ? तपाईंले यस्तो शास्त्र लेख्नुभएको छ कि कसैलाई पनि रोग लाग्न बाट जाेगाउन सकिन्छ । संसारका हरेक रोगको उपचार लेख्नुभयाे । तैपनि यो विनाश किन र कसाेरी आउने हो?
महर्षि पुनर्वसुले भन्नुभयो – “यो यसकारण हुनेछ कि मानिसहरू धर्म त्यागेर अधर्म तर्फ लाग्नेछन् – सत्य त्यागी असत्य तिर लाग्नेछन् । सत्य र धर्ममा रुचि रहनेछैन।” अग्निवेशले सोधे- “गुरुदेव, धर्म र सत्यप्रति मानिसको चासो नहुनुको कारण के होला?” गुरुले भन्नुभयो, “बुद्धिको क्षय नै यो महाविनाशको कारण हुनेछ। जब बुद्धि बिग्रन्छ, सत्यको मार्ग छोडेर मानव असत्यतिर लाग्दछ, तब धर्ममा कुनै रुची रहँदैन।”
बुद्धिको ह्रास सबै रोगको कारण हो, तर बुद्धिको ह्रासले शारीरिक रोग मात्र होइन, सामाजिक, राजनीतिक, आर्थिक, आध्यात्मिक सबै रोग उत्पन्न हुन्छ। त्यसैले भनिन्छ विनाशकाले विपरीत बुद्धि अर्थात, विनाशको समय आउँदा बुद्धि गलत बाटोमा हिड्न थाल्छ। भगवान कृष्णले गीताकाे दाेस्राे अध्यायकाे ६३ अौं श्लोकमा भन्नुभएको छ- ‘बुद्धि नाशात्प्राणश्यति।’ बुद्धिको विनाशले मान्छेकाे सर्वनाश हुन्छ।