शैक्षिक गुणस्तर कायम गर्ने विषयमा कुनै सम्झौता हुँदैन : शिक्षा मन्त्री खाँ
पाल्पा , १६ भदौ ।
लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले प्रदेश सरकारले शैक्षिक गुणस्तर कायम गर्न कुनै सम्झौता नगर्ने बताउनु भएको छ । मन्त्री खाँले लुम्बिनी प्रदेश सरकारले शिक्षालाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै शिक्षालाई गुणस्तिरिय प्रविधियुक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।बिहिवार पाल्पा जिल्लाको रामपुर नगरपालिकामा सहिद बहुमुखी क्याम्पसको निरीक्षण गर्दै यस्तो बताउनुभयो ।

मन्त्री खाँले प्रदेश सरकारले शिक्षा क्षेत्रमा बजेट बढाएको बताउदै आईटि प्रविधि युक्त जनशक्ति उत्पादनमा प्रदेश सरकारको विशेष चासो रहेको बताउनु भयो । प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालन गर्न लागेको र विश्वविद्यालयबाट नेपाललाई चाहिने आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत टेवा पुग्ने जानकारी दिनुभयो ।
मन्त्री खाँले रामपुरमा सहिद बहुमुखी क्याम्पस , श्री रामतुल्सी नमुना मा.वि. , मदरसा नुरुलहोदा अहले सुन्नत प्रा. वि., श्री दरैढाटी मा वि रामपुर-६ , श्री जनकल्याण मा वि रामपुर-१०, लगाएतका शैक्षिक संस्थाहरुको निरीक्षणको साथै अन्तरक्रियामा सहभागी हुनुभयो । यस्तै, मदरसा नुरुल होदा आधारभुत विद्यालय रामपुर-४को २ कोठे भवनको उदघाटन तथा निरीक्षण समेत गर्नुभयो ।

गणेशमान स्मृति भवन कांग्रेस पार्टी कार्यालयमा भेटघाट तथा छलफल समेत भएको थियो । कार्यक्रममा पाल्पा क्षेत्र न १(क) को प्रदेश सभा सदस्य युवराज खनाल , रामपुर नगरपालिकाका नगर प्रमुख श्री रमण बहादुर थापा , सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख श्री हरिलाल आर्याल,नेपाली कांग्रेस महासमिती सदस्य हाजिल मिया अन्सारी , नेपाली कांग्रेस रामपुर नगरपालिका का सभापती श्री नेत्र भट्टराई ,विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरु, प्रधानाध्यापकहरु , शिक्षक,अभिभावक लागायत स्थानीयहरुको उपस्थिती थियो ।